केपी ओली कपः सुदूरपश्चिमसंग पुलिस स्तब्ध, रनरेटका आधारमा मधेस सेमिफाइनलमा


eShilalekh

१२ मंसिर २०८०, मंगलवार १५:०१

सिमराः मधेस प्रदेश क्रिकेट टिम पोखरामा जारी केपी ओली टी–२० क्रिकेट कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई पराजित गरेसंगै समूह विजेताको रुपमा मधेस सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा मधेस, पुलिस र सुदूपश्चिमले समान एक/एक खेल जित्दै दुई/दुई अंक बटुलेपनि नेट रनरेटका आधारमा मधेस सेमिफाइनलमा प्रवेश गरेको हो । मधेसको रनरेट १.४७२ छ भने पुलिसको १.०८४ छ । अंकतालिकाको तेस्रो स्थानमा रहेको सुदूरपश्चिमको –३.२२९ छ ।

प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा सुदूरपश्चिमलाई आठ विकेटले पराजित गरेको मधेस दोस्रो खेलमा भने पुलिससंग ५७ रनले पराजित भएको थियो । यता मधेसलाई ५७ रनले पराजित गरेको पुलिस सुदूरपश्चिमसंग चार विकेटले पराजित भएपछि रनरेटले मधेस अघिल्लो चरणमा प्रवेश गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ रोजेको पुलिसले चार विकेटको क्षतिमा एक सय ५८ रन बनाएको थियो । जपाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८.४ ओभरमा ६ विकेट गुमाउदै जित हात पारेको हो ।

मधेसले अब फाइनल प्रवेशका लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको नेपाल एपीएफ क्लबसंग खेल्नेछ । एपीएफ ‘बी’ को विजेता हो । यसैगरी अर्को सेमिफाइनल खेलमा सन्दीप लामिछानेको नेतृत्वमा रहेको समूह ‘ए’ को विजेता बागमती प्रदेश र बिनोद भण्डारीको नेतृत्वमा रहेको समूह ‘डी’ को विजेता नेपाल आर्मी क्लब भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्