विद्यार्थीले चलाए विद्यालय


eShilalekh

१६ मंसिर २०८०, शनिबार ००:०७

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका–१ सिमरास्थित न्यु एकता इङलिस बोर्डिङ स्कुल रचनात्मक गतिविधिमा सक्रिय छ । विद्यालयले सैन्दान्तिकसंगै व्यवहारिक शिक्षाका लागि रचनात्मक गतिविधि गर्दै आएको छ ।

विद्यालयले अघिल्लो वर्षजस्तै शुक्रबार पनि एक दिन विद्यालयको सम्पूर्ण व्यवस्थापन कक्षा १० का विद्यार्थीको हातमा सुम्पियो । विद्यार्थीलाई पढाईसंगै अन्य विषयमा अब्बल बनाउने प्रयासस्वरुप एकता स्कुलको व्यवस्थापनले विद्यालयका विद्यार्थीलाई एक दिन विद्यालय संचालन गर्न लगाएको हो ।

अन्य दिन सिधै कक्षाकोठामा पुग्ने विद्यार्थी प्रिन्सिपल, व्यवस्थापन, प्रशासन, शिक्षकको भूमिकामा विद्यार्थी देखिए । उनिहरुले व्यवस्थित ढंगले विद्यालय संचालन गरेका थिए । सो वापत उनिहरुले एक दिनको सेवासुविधा समेत प्राप्त गरे ।

विद्यालयका प्रिसिन्पल मदन रिजाल विद्यार्थीले विद्यालय संचालन गरिरहेको नियालिरहेका थिए । आफ्नो जिम्मेवारीमा बसेर आफ्नै विद्यार्थीले गरेको कार्यको अवलोकन गरे । रिजाल मात्र नभई उक्त दिन विद्यालयका सम्पूर्ण शिक्षक र कर्मचारी निष्क्रिय हुँदा विद्यार्थी सक्रिय थिए ।

विद्यालयको सम्पूर्ण जिम्मेवारी विद्यार्थीकै हातमा थियो । विद्यालयनै संचालन गर्न पाउँदा विद्यार्थीहरु उत्साहित देखिन्थे । विद्यार्थीहरुले नेतृत्वमा रहेर कार्यसम्पादनको अनुभव बटुलेका थिए ।

विद्यालयका प्रिन्सिपल रिजालले विद्यार्थीलाई अध्ययनसंगै अन्य गतिविधिमा पनि अब्बल बनाउनका लागि एक दिन सम्पूर्ण व्यवस्थापन उनिहरुको हातमा छोडिदिएको बताए । यस्तो रचनात्मक गतिविधिले विद्यार्थीलाई परिपक्व बनाउने र नेतृत्व गर्ने क्षमताको विकास हुँदै जाने रिजालले बताए ।

विद्यालयका शिक्षक दिवस न्यौपालेले रचनात्मक गतिविधिले विद्यार्थीको नेतृत्व विकासमा टेवा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्