सिमरा विमानस्थलमा सुरु भयो हवाई इन्धन ‘रिफ्युल’, मन्त्री रिजालले गरे शुभारम्भ


eShilalekh

१७ मंसिर २०८०, आईतवार २०:५३

सिमराः काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरा विमानस्थलमा आइतबारदेखि हवाई इन्धन रिफ्युल स्टेशन संचालनमा आएको छ । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले एक कार्यक्रमकाबीच स्टेशनको शुभारम्भ गरेका हुन् ।

सेवा प्रारम्भ भएसंगै अब सिमरा विमानस्थलमा अवतरण गर्ने विमानले आवश्यकता अनुसार इन्धन भर्न सक्नेछन् । देशकै पुरानो विमानस्थल भएपनि यसअघि इन्धन रिफ्युल सुविधा नहुँदा आपतकालिन अवतरण गर्नुपर्ने विमानलाई अन्यत्र पठाइने गरिएको थियो ।

काठमाठौंबाट छोटो दुरीमा रहेपनि इन्धन रिफ्युल गर्ने सुविधा नहुँदा मौसम र ‘एयर ट्राफिक’ का कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेका जहाज भैरहवा र विराटनगर डाइभर्ट गर्ने गरिएको थियो । अब भने काठमाडौंमा अवतरण गर्न नसकेका जहाजलाई १५ मिनेटको दुरीमा रहेको सिमरा पठाउन सहज भएको छ ।

इन्धन स्टेशन सुरु भएपछि हवाई यात्राको कनेक्टिभिटी र पहुँचलाई सुदृढ गर्नुका साथै उड्यान उद्योग र यात्रुलाई फाईदा पुग्ने निगमको भनाई छ ।

जहाजमा इन्धन भर्न यतिबेला सिमरा विमानस्थलमा तीन वटा ट्यांकर राखिएको छ । जनकपुरबाट इन्धन भरेर आउने ट्यांकरले सिमरा विमानस्थलमा अवतरण भएका जहाजलाई इन्धन उपलब्ध गराउनेछ । ट्यांकर खाली भएमा पुनः जनकपुर पुगेर इन्धन भर्नेछ । १४ किलोमिटरको दुरीमा निगमको अमलेखगञ्ज डिपो भएपनि इन्धन भर्न ट्यांकर जनकपुर पुग्नेछन् ।

इन्धन रिफ्युल स्टेशन उद्घाटका क्रममा मन्त्री रिजालसहित मन्त्रालयका सचिव एवम् नेपाल आयल निगम संचालक समिति अध्यक्ष नारायण प्रसाद शर्मा दुवाडी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेललगायतको उपस्थिती रहेको थियो ।

यसअघि नेपाल आयल निगमको सिनामंगलस्थित हवाई इन्धन कार्यालयका प्रमुख प्रदीपकुमार यादव र सिमरा विमानस्थल कार्यालयका प्रमुख सूर्यबहादुर खत्रीले कार्तिक २२ गते इन्धन डिपो राख्न सम्झौता गरिसकेका छन् । सम्झौताअनुसार डिपो स्थापना गर्नका लागि नागरिक उड्डयन प्राधिकरण सिमराले पाँच कठ्ठा जमिन उपलब्ध गराउनेछ । सोही जमिनमा हवाई डिपो स्थापना गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्