एजेन्टलाई अढाई लाख र खसी दिएर बिदेश गएका श्रीमान् एक महिनामै फर्किएपछि…


eShilalekh

२१ मंसिर २०८०, बिहीबार ०७:५७

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका ११ अम्बाडारकी २३ वर्षीया राधा चौधरी यतिबेला डेढ वर्षको छोरा च्यापेर सिमरा र कलैया धाईरहेकी छिन् । होटलमा काम गर्न साउदी अरब गएका श्रीमान् एक महिनामै फर्किएपछि राधा अहिले बिदेश पठाईदिने एजेण्टलाई खोज्न भौतारिरहेकी छिन् ।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण राधासंग गाडीमा आवतजावत गर्ने पैसा पनि छैन । त्यसैले उनि सासुले चलाएको साइकलमा बसेर न्याय खोजिरहेकी छिन् । पछिल्लो ६ महिनादेखि प्रशासन र सरोकारवाला निकायको दैलोमा पुगिरहेकी राधाले न एजेण्ट फेला पार्न सकेकी छिन् न त पैसा फिर्ता पाउने आश्वासन पाएकी छिन् ।

राधाले कलैया बरेवाका अबास मियाँ नामका एजेण्टलाई दुई लाख ५० हजार नगद र आफन्तसंग २५ किलोको खसी सापटी मागेर दिएकी थिईन् । एजेण्टबाट ठगिएको भन्दै न्याय माग्न प्रहरीसमक्ष पुग्दा केही गर्न नसक्ने भनेर पन्छ्याउने गरेको राधा बताउछिन् । श्रीमान्लाई बिदेश पठाउन नगद र २५ किलोको खसी लिएको एजेण्टले उल्टै धम्क्याउने गरेको राधाको भनाई छ ।

पैसा नदिएसम्म एजेण्टले काम नगर्ने बताएपछि तीन लाख मागेकोमा अढाई लाख नगद र एउटा खसी दिएको राधा बताउछिन् । एजेण्टविरुद्ध मुद्धा प्रक्रिया अगाडी बढाउन बलियो प्रमाण र पर्याप्त रकम नहुँदा राधाको परिवार बिचल्लीमा छ । सामान्य लेखपढ समेत नगरेकी राधा एजेण्टको विश्वास गर्दा पीडित हुनुपरेको बताउछिन् ।

राधाको २५ वर्षीय श्रीमान् बिजय चौधरी ललितपुर कुपण्डोलमा रहेको इनोभेटिभ हु्मन रिसोर्स डेभलपमेन्ट प्रालिमार्फत साउदी अरबको फल अल अरेयिबा कन्ट्रयाक्टिङ कम्पनीमा काम गर्न गएका थिए । एजेण्टले होटलमा काम लगाइदिने बताएपनि बिजय र रोजगारदाता कम्पनीबीच भएको सम्झौतामा कामको प्रकार ‘लोडिङ र अनलोडिङ’ उल्लेख छ । सोवापत प्रतिमहिना तलब र खाना गरी एक हजार तीन सय साउदी रियाल बिजयले पाउने सम्झौतापत्रमा जनाइएको छ ।

तर साउदी अरब पुगेको एक महिनासम्म बिजयले काम नपाएको र एक महिनापछि कम्पनीले फिर्ता गरिदिएको राधा बताउछिन् । बिदेशबाट फर्किएका बिजय अहिले नेपालगंजमा जाली बनाउने कम्पनीमा काम गरिरहेका छन् । श्रीमान्लाई काममा पठाएर राधा भने एजेण्टले लिएको पैसा फिर्ता लिन संघर्ष गरिरहेकी छिन् । श्रीमान् विदेशबाट फर्किएपछि अर्को देश पठाईदिन्छु भन्दै आश्वासन दिने गरेको एजेण्टले अहिले पैसा फिर्ता नदिने भन्दै धम्की दिएको राधा बताउछिन् ।

जिल्ला प्रशासन कार्यालय बाराले आवश्यक प्रक्रिया अघि बढाउन राधाको फाइल जिल्ला प्रहरी कार्यालय बारामा पठाएको केही महिना भईसकेको छ । प्रहरीले प्रमाण खोजिरहेको छ । एजेण्टलाई पैसा दिएको प्रमाण राधासंग छैन । मेनपावर कम्पनीले पैसा आफूलाई नदिएको बताउँछ । बिजयले पासपोर्ट फिर्ता पाएका छैनन् । जसका कारण राधा पीडित छिन् ।

प्रहरीले राधालाई मुद्धा प्रक्रियामा अघि बढ्न अनुरोध गरेको छ । तर मुद्धा प्रक्रियामा जान राधासंग पैसा छैन । पैसा नभएका कारण गाडी समेत चढ्न नसकेकी राधाले मुद्धाका लागि आवश्यक पर्ने रकम जुटाउन पूनः ऋण खोज्नुपर्ने अवस्था छ । एजेण्टले लिएको पैसा उठाउनका लागि ऋण खोज्ने सामथ्र्य नभएपछि राधा अहिले सुरक्षित आप्रवास (सामी) परियोजना र आप्रवासी हकहित संजालमा पुगेकी छिन् ।

स्विस सरकारको सहयोगमा संचालित सामी परियोजनाको जीतपुरसिमरास्थित परामर्शकेन्द्रका सूचना परामर्शकर्ता नवराज घिमिरेले राधाको परिवारलाई एजेण्टले ठगेको बताउछन् । बिदेश पठाउने भन्दै एजेन्टले राधासंग पैसा र खसी लिएको तर प्रमाण नभएका कारण समस्या भईरहेको घिमिरेले बताए ।

एजेण्टसंग आफूले पीडितको विषयमा कुरा गर्दा ‘बसेर मिलाउनुपर्छ’ भन्दै पन्छिने गरेको घिमिरे बताउछन् । बैदेशिक रोजगार विभागसम्म पुगेर न्यायका लागि लड्न पीडितसंग सामथ्र्य नभएका कारण स्थानीय स्तरबाट यसको समाधानको उपाय खोजिनुपर्ने घिमिरेको भनाई छ । आप्रवासी हकहित संजाल मधेस प्रदेश महासचिव शंकर सिंखडाले राधाले एजेण्टविरुद्ध अघि बढाएको फाइलमा प्रहरीले व्यक्ति फेला नपरेको भनेर उल्लेख गरेको बताउछन् ।

यता जिल्ला प्रहरी बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले आफू केही महिनाअघि मात्रै कार्यालय प्रमुख भएर आएको र यस विषयमा थप बुझेर पीडितलाई न्याय दिलाउने बताएका छन् । एजेण्टलाई पैसा दिएको प्रमाण नभएका कारण कानुनी प्रक्रियामा ढिलाई हुन गएको भएपनि स्थानीय स्तरबाटै पीडितलाई न्याय दिलाउनुपर्ने काफ्ले भनाई छ । काफ्लेले पीडित पक्षसंग छलफल गरेर न्याय सम्पादनको काम अघि बढाउने बताए ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्