नाट्टाद्धारा आयोजित ‘कस्टमर केयर सर्भिस’ तालिम सम्पन्न


eShilalekh

२३ मंसिर २०८०, शनिबार १९:१०

सिमराः होटल तथा पर्यटन व्यवसायमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यसहित सिमरामा आयोजना गरिएको पाँच दिने ‘कस्टमर केयर सर्भिस’ तालिम शनिबार सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहयोगमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) मधेस प्रदेशले मंसिर १९ गतेदेखि आयोजना गरेको तालिम सम्पन्न भएको हो ।

सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा आयोजित तालिमममा होटल तथा पर्यटन क्षेत्रमा कार्यरत र उच्च शिक्षा अध्ययन गरिरहेका ३० भन्दा बढी प्रशिक्षार्थीको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए ।

समापन कार्यक्रममा नाट्टा मधेस प्रदेश अध्यक्ष मोहन शर्मा लामिछाने, होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष मोहन प्रधान, नाट्टाका मधेस प्रदेश वरिष्ठ उपाध्यक्ष विनोद चौधरी, प्रशिक्षक विनय शाक्यलगायतले मन्तब्य राखेका थिए । लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरीले गरेका थिए ।

‘जीविकोपार्जन पुर्नरुत्थानका लागि दिगो पर्यटन परियोजना’ अन्तर्गत नेपालमा युएनडिपी र नेपाल पर्यटन बोर्डको संयुक्त सहकार्यमा विभिन्न कार्यक्रम संचालन भईरहेको छ । उक्त परियोजनामा होटल तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । सोही परियोजना अन्तर्गत नाट्टा केन्द्रीय कार्यालयको सहयोगमा मधेस प्रदेश कमिटीले तालिमको आयोजना गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्