कलैयामा यातायात व्यवस्था कार्यालयको उद्घाटन, सेवा छिट्टै सुरु हुने


eShilalekh

२६ मंसिर २०८०, मंगलवार ०८:२९

धिरेन्द्र तिवारी
कलैया: 
बाराको कलैयामा सोमबार यातायात व्यवस्था कार्यालयको उद्घाटन गरिएको छ । मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दनकुमार सिंहले कलैया ३ स्थित गंगापुर शिक्षा तालिम केन्द्रमा स्थापना गरिएको कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यालयको उद्घाटन भएसंगै अब बाराका सेवाग्राहीले यातायातसम्बन्धि सम्पूर्ण कार्यको सेवा लिन सक्नेछन् । केहीदिनको तयारीपछि सेवा संचालन हुनेछ । यसअघि उक्त सेवा वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयले प्रदान गर्दै आएको थियो ।

यातायात व्यवस्था कार्यालय मधेस प्रदेश सरकार अन्तर्गत आएपछी सेवा विस्तार गरिएको हो । यसअघि सर्लाहीमा कार्यालय उद्घाटन भएको थियो । उक्त सेवा मधेसका सबै जिल्लामा क्रमशः लगिने बताइएको छ ।

कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री सिंहले मन्त्रालयले अब सवारी चालक अनुमतिपत्रको नविकरण मितिको अवधि बढाएर १० वर्ष पुर्याउने र गाडीको नविकरण पटकपटक गर्न नपर्ने गरि तयारी गरिरहेको बताए ।

कार्यक्रममा मधेस प्रदेशसभा सदस्य महम्मद समीरले यातायात कार्यालय बारामा उद्घाटन हुँदा बाराबासीको लागि खुशीका कुरा रहेकोे बताए । समीरले हरेक सेवालाई जनतामाझ लगिनुपर्ने बताउदै बताए ।

यसैगरी मदेस प्रदेशसभा सदस्य रवीन्द्रदास श्रेष्ठले कार्यालय उद्घाटनसंगै व्यवस्थित ढंगले सेवा संचालनमा ध्यान दिनुपर्ने बताए । कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले यातायात कार्यालयको स्थानीय रूपमा कार्यालय व्यवस्थापन गर्नका लागि तीन बिगाह जमिन उपलब्ध गराउने घोषणा गरे ।

कार्यक्रममा जसपाका नेता रामबाबुकुमार यादव, संविधानसभा सदस्य प्रमोद गुप्ता,  नेता पारस साह, जनमत पार्टीका जिल्ला ईन्चार्ज शिवनाथ पटेल, नेता सन्तोष पटेल, मुकेश दुबेदी, नेपाली कांग्रेसका राजेश सिंह, नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष मुकेश साहलगायतकाले मन्तव्य राखेका थिए ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्