तीन नम्बर पुलमा बस र ट्रक ठोक्किँदा तीनको मृत्यु, २७ जना घाईते


eShilalekh

४ पुष २०८०, बुधबार ०९:५२

सिमराः त्रिभुवन राजपथ अन्तर्गत पथलैया–हेटौडा सडकखण्डको तीन नम्बर पुलमा बुधवार बिहान बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक तनहुँ पिपरटारका करिब २८ वर्षीय पूर्ण गुरुङ, बस चालक हेटौडा उपमहानगरपालिका ३ का करिब ४० वर्षीय हरि शमशेर थापा र पहिचान नखुलेका एक पुरुष रहेका छन् ।

काकरभिट्टाबाट काठमाडौंतर्फ जादै गरेको बा.३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जादै गरेको ना७ख ७३०० नम्बरको ट्रक एक आपसमा ठोक्किँएको हो । दुर्घटनामा २७ जना घाईते भएका छन् । घाइतेमध्ये सातको अवस्था गम्भिर छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सुनसरी भाति गाउँपालिका २ का ३० वर्षीय खिलराज दुलाल, सुनसरी इटहरी उपमहानगरपालिका ४ का ४० वर्षीय सुरेन्द्र गौतम, उनकी श्रीमती ३५ वर्षीया सम्झना गजुरेल, उनकी छोरी १२ वर्षीया सोराय गौतम, उनका छोरा तीन वर्षीय सोडनेम गौतम, बसका सहचालक झापा दमकका ३५ वर्षीय नगेन्द्र उप्रेतीको अवस्था गम्भिर छ । उनिहरुलाई थप उपचारका लागि हेटौंडाबाट चितवनस्थित पुरानो मेडिकल कलेजमा लगिएको छ ।

यसैगरी दुर्घटनाका अर्का एक घाईते तनहुँ बन्दिपुर गाउँपालिका ६ का १७ वर्षीय तेजकुमार गुरुङको हेटौडा अस्पतालमा उपचार भईरहेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् । दुर्घटनामा सामान्य घाईते भएका यात्रुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको न्यौपानेको भनाई छ ।

राती करिब दुई बजे बस र ट्रक एक आपसमा ठोक्किँएको हो । घटनालगत्तै ईलाका प्रहरी कार्यालय अमलेखगंज र ईलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोली पुगेर घाईतेको उद्धार गरेका थिए । बससंग ठोक्किएको ट्रक राजमार्ग भन्दा तल खसेको छ । दुर्घटनापछि राजमार्ग समेत अवरुद्ध भएको थियो । प्रहरीले घाईतेको उद्धार गरी पठाएपछि राजमार्ग सूचारु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्