उद्योगको लाइन काट्दै प्राधिकरण, रोजगारी गुम्ने त्रासमा मजदुर


eShilalekh

११ पुष २०८०, बुधबार १७:४४

सिमराः नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन सेवा वापतको महसुल नतिरेको भन्दै उद्योगको बिजुली कटौती गरेपछि बाराको सिमरामा बुधवार हजारौं मजदुर सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । उद्योगको विद्युत आपूर्ति काटिएसंगै आफूहरुको रोजगारी गुमेको भन्दै मजदुरहरुले प्रदर्शन गरेका हुन् ।

रोजगारदाता र सरकारबीचको द्धन्दले श्रमिकको रोजगारीलाई असर गर्न नपाईने भन्दै जगदम्बा स्टील्स् प्रा.लि, हुलास स्टील्स प्रा.लि., अशोक स्टील्स् प्रा.लि. र त्रिवेणी स्पेनिङ मिल्सका मजदुरहरु विभिन्न नारा लेखिएको प्लेकार्डसहित सडकमा उत्रिएर प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनसंगै उनिहरुले सिमरास्थित ईलाका प्रशासन कार्यालय र नेपाल विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

मजदुरको नेतृत्व गर्दै पुगेका विभिन्न ट्रेड युनियनका नेताले ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख ध्रुव गिरी र विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रुमेश रुपाखेतीलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा उनिहरुले सरकार र रोजगारदाताबीचको विवाद तत्काल समाधान गरेर आफूहरुको रोजगारी सुनिश्चितता गर्न माग गरेका छन् ।

प्राधिकरणले विद्युत कटौती गर्दा उद्योगमा कार्यरत करिब ६ हजार मजदुरको रोजगारी खोसिने अवस्था रहेको ट्रेड युनियनको ज्ञापनपत्रमा उल्लेख छ । उनिहरुले रोजगारदाता र सरकारबीचको विवाद तत्काल समाधान नभए संघर्षमा उत्रने चेतावनी समेत दिएका छन् ।

प्राधिकरणले पथलैया–वीरगन्ज व्यापारिक मार्गमा पर्ने तीन ठुला उद्योगको विद्युत आपूर्ति कटौती गरिसकेको छ । अन्य उद्योगको लाइन काट्ने तयारी भईरहेको छ । प्राधिकरणले उद्योगको लाइन काट्न थालेपछि रोजगारी गुम्ने खतरा देखेका मजदुर विरोधमा उत्रिएका हुन् ।

सिमरा वितरण केन्द्रले जगदम्बा स्टील्स् र अशोक स्टील्स्को विद्युत कटौती गरिसकेको छ । उता वीरगन्ज वितरण केन्द्रले त्रिवेणी स्पेनिङ मिल्सको विद्युत लाइन काटेको छ । डेडिकेटेड र ट्रंकलाइन सेवा वापत जगदम्बा स्टील्स्ले चार सय १४ करोड र अशोक स्टील्स्ले ७८ करोड बक्यौता तिर्न बाँकी रहेको सिमरा वितरण केन्द्रको भनाई छ ।

जगदम्बा र अशोक स्टील्स् सिमरा वितरण केन्द्र अन्तर्गत पर्दछन् । यसबाहेक सिमरा वितरण केन्द्रबाट हुलास स्टील्स्, हामा आइरन र सुर्य नेपाल प्रालिले डेडिकेटेड र ट्रंकलाइन सेवा लिएका थिए । उक्त सेवा वापत हुलास स्टील्स्ले ४३ करोड, हामाले ११ करोड ५० लाख र सुर्य नेपालले अढाई करोड बक्यौता तिर्न बाँकी रहेको सिमरा वितरण केन्द्रका प्रमुख रुपाखेतीले जानकारी दिए । पाँच वटा उद्योगबाट पाँच अर्व ५० करोड बक्यौता असुल गर्न बाँकी जानकारी दिदै रुपाखेतीले केन्द्रबाट निर्देशन भएअनुसार उद्योगको लाइन काटिएको बताए ।

‘केन्द्रबाट प्राप्त निर्देशनअनुसार हामीले तत्काललाई सेवा कटौती गरेका हौं । अहिलेको हाम्रो भनाई भुक्तानी गर्नुपर्छ भन्ने नै हो’ रुपाखेतीले भने ‘अब माथिल्लो तहमा के निर्णय हुन्छ । त्यसैअनुसार हामी अगाडी बढ्नेछौं ।’

यता जगदम्बा स्टील्स् अन्तर्गत आधिकारिक टे«ड युनियनका सचिव दीपक कार्कीले रोजगारदाता र सरकारबीचको विवादको असर मजदुरलाई पर्न नहुने बताए । ‘दुई पक्षको लेनदेन वा बाँकी बक्यौता विषय मजदुरलाई जानकारी हुने विषय होइन । तर उद्योग बन्द हुँदा त्यसको असर मजदुरलाई परेको छ’ कार्कीले भने ‘हजारौं मजदुर एकैपटक रोजगारविहिन हुने अवस्था सिर्जना नगर्न सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छौं । ‘कार्कीले विद्युत आपूर्तिको समस्या तत्काल समाधान गर्न अपिल गरेका छन् ।

करिब एक दशकअघि अत्यधिक लोडसेडिङ रहेका बेला उद्योग तथा कलकारखाना चलायमान बनाउन प्राधिकरणले न्युनतमभन्दा करिब ६५ प्रतिशत बढी दस्तुर लिएर डेडिकेटेड र ट्रंकलाइन सेवा उपलब्ध गराएको थियो । उक्त निर्णयअनुसार २०७२ भदौमा सुरु भएको डेडिकेटेड र ट्रंकलाइन सेवा २०७७ असारबाट हटेको थियो ।

२०७५ साल बैशाख ३१ गते देश लोडसेडिङमुक्त भएको घोषणा भएपनि डेडिकेटेड र ट्रंकलाइन सेवा भने २०७७ साउनदेखि लागू हुनेगरी हटाइएको थियो । डेडिकेटेड र ट्रंकलाइन सेवा लिएका उद्योग प्रतिष्ठानले पूर्ण शुल्क नतिरेको प्राधिकरणको भनाई छ । प्राधिकरणले उद्योग कलकारखानालाई छुट बिल रकम बुझाउन समेत पत्राचार गरेपछि विवाद बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्