स्वास्थ्य सेवा लिएर घरदैलोमा पुग्दै निजगढ नगरपालिका


eShilalekh

२५ पुष २०८०, बुधबार २१:१८

सिमराः बाराको निजगढ नगरपालिकाले नगरबासीको घरदैलोमा पुगेर निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ । ‘जेष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपांगतासंग निजगढ नगरपालिका’ कार्यक्रम मार्फत नगरपालिकाले नगरबासीको घरदैलोमा पुगेर सेवा दिन सुरु गरेको हो ।

स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्ष माथिका, गम्भिर रोगका कारण शैयामा रहेका, शारीरिक अशक्तताका कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्याउन नगरपालिकाको टोली चिकित्सकसहित घरदैलोमा जान थालेको नगर प्रमुख सुरथ पुरीले जानकारी दिए ।

भौगोलिक विकटता, स्वास्थ्य संस्थासम्म आफै पुग्न नसक्ने ज्येष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिने लक्ष्य रहेको नगर प्रमुख पुरीले बताए । नगरपालिकाको स्वास्थ्य कार्यक्रमको एक कार्यक्रमकाबीच निजगढ नगरपालिका ११ रतनपुरकी एक सय दुई वर्षीया वृद्धा अम्बिका कार्की र उनकी ६५ वर्षिय बुहारी रनमाया खत्रीको स्वास्थ्य परीक्षण र उपचार गरेर सुरुवात गरिएको थियो । नगरपालिकाका स्वास्थ्यकर्मी घरमै आएर स्वस्थ्य परीक्षण र औषधी समेत वितरण गरेपछि रनमायाले खुसी व्यक्त गरिन् ।

स्वास्थ्य कार्यक्रम अन्तर्गत नगरबासीको घरमै पुगेर प्राथमिक उपचार, सामान्य ड्रेसिङ्ग, पोषण अवस्थाको परीक्षण र औषधिसमेत वितरण गरिनेछ । घरदैलोमा खटिएका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेटको दुखाइ लगायतका उपचार गरी आवश्यक परामर्श दिनेछन् ।

नगरपालिकाले जाँच गरेका विरामीलाई निःशुल्क औषधी वितरण गरिने नगर प्रमुख पुरीले बताए । नेपालको संविधानले नागरिकलाई स्वास्थ्य उपचारको हक प्रदान गरेकोले यसको प्रत्याभूति गर्न सबै क्षेत्र र तहले इमान्दारिताका साथ काम गर्नुपर्ने पुरीको भनाई छ ।

नगर प्रमुख पुरीले जनताको स्वास्थ्य सुरक्षाको लागि राज्यले पनि ठूलो धनराशी खर्च गर्दै आएको बताउँदै लगानी अनुसार फल प्राप्त हुन नसकेको बताए । नगरबासीलाई स्वस्थ र निरोगी बनाउन नगरपालिकाले ‘जेष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपांगतासंग निजगढ नगरपालिका’ कार्यक्रम संचलन गरेको नगर प्रमुख पुरीले जानकारी दिए ।

यस कार्यक्रम अन्तर्गत नगरपालिकाका स्वास्थ्यकर्मीले प्रत्येक महिना नगरबासीको घरदैलोमा पुगेर स्वास्थ्य उपचार गर्नेछन् । गम्भीर समस्या भएका ज्येष्ठ नागरिकलाई थप उपचारका लागि समेत नगरपालिकाले सहयोग गदै आएको छ । नगरभित्रका ज्येष्ठ नागरिकको रोग पहिचान गर्न र सामान्य उपचारका लागि कठिनाईं भोग्न नपरोस् भन्दै कार्यक्रम ल्याइएको नगर प्रमुख पुरीले बताए ।

प्रतिक्रिया दिनुहोस्