बालबालिका र मोबाइलः भुल्याउन दिँदा बस्यो लत, अहिले छुटाउन सकस


बिनिता खत्री

४ फाल्गुन २०८०, शुक्रबार १६:२७

सिमराः मेरो बिहानको सुरुवात नै नानी (छिमेकी बहिनी) रुदै गरेको आवाज बाट हुन्थ्यो । नानी नरोएको दिननै हुदैन थियो । सानै छ, रुने त गरिहाल्छ नि जस्तो मलाई लाग्थ्यो । तर दिनहुँ रोएको सुन्दा बिहानीपखको समय अलि नराम्रो महसुस हुने गरेको थियो । नानी किन रोएकी होली भन्ने प्रश्न मनमा उठिरहेको हुन्थ्यो । कारण के रहेछ भनेर एक दिन बिहानै उठेर छिमेकी अन्टीको घरमा गए ।

अन्टीको घर पुग्दा नानीको अगाडी कचौरामा दुध र रोटी थियो । नानी रुँदै थिईन् । अन्टी नानीलाई कराउँदै हुनुहुन्थ्यो । मैले अन्टीलाई सोधे, किन गाली गर्नु भएको नानी रुदै छिन् त ? अन्टीले भन्नुभयो ‘हैरान भईसके म, खाना खान पनि मोबाइल चाहिने । सुत्ने बेला, बिहान उठ्ने बित्तिकै पनि मोबाइल नै चाहिने । स्कुल बाट आउन पाएको छैन् मोबाइल चलाईहाल्नुपर्ने । पढाई तिर मनै छैन् । मोबाइल नदिएको भनेर रुदै छे ।’

अनि मैले दिनहुँ नानी रोएको आवाज मोबाइलकै कारण रहेछ भन्ने मनमनै ठाँने । सधै मोबाइल नपाएकै कारण बिहान बिहान रुने गरेको हो त ? मैले अन्टीलाई सोध । तुरुन्तै जवाफ आयो, ‘हो नी । बानी नै बिग्रिसकेको छ’ । यति भन्दै गर्दा अन्टीले नानीलाई मोबाइल चलाउने आदत बस्नुको पछाडी आफू नै कारण रहेको समेत बताउँदै हुनुहुन्थ्यो ।

घरमा काम गर्न नै नदिने भएपछि सुरुमा एकै ठाँउमा बस्छ भनेर मोबाइल हेर्न दिईन्थ्यो । अहिले त मोबाइल नहेरी केही नगर्ने भईसकेको छ । यो राम्रो हो त? उल्टै मलाई प्रतिप्रश्न गर्नुभयो । मैले पनि लत नै बसे जसरी हेर्नु चै गलत रहेको तर्क गरे । आफूलाई दोष लगाउँदै आउनुभएको अन्टीले केही दिन रोएपनि मोबाइल चलाउने बानी छुटाउन खोजिरहेको बताउनुभयो । अनि हुन्छ भन्दै म फर्किए ।

फर्कदै गर्दा मनमनै सोचे यस्तो समस्या झेलिरहनु भएको अन्टी एउटा पात्र मात्रै हो । यतिबेला हरेक घरमा अन्टीले बताएजस्तै समस्या छ । हरेक घरका साना बालबालिका मोबाइलमा व्यस्त रहेको देखिन्छ । उनिहरुलाई घरमा को आए, गएसंग मतलब हुँदैन । सबै ध्यान मोबाइलमै केन्द्रीत हुन्छ, मोबाइलले एकोहोरो बनाईरहेको हुन्छ ।

केही समयअघि नेपाल सरकार विज्ञापन बोर्डले पनि मोबाइलको लतबाट बालबालिकालाई कसरी जोगाउने भनेर सुचना जारी गरेको छ । सूचनामा ‘मोबाइलका लत लागेका बालबालिकामा निन्द्रा ढिलो लाग्ने, गहिरो निन्द्रा नलाग्ने, पटकपटक ब्युँझने समस्या देखिन सक्छ । मोबाइलको नचलाई नहुने लतले बालबालिकाको मस्तिष्क विकासमा नै असर पुग्न सक्छ । मोबाइल देखाएर खाना खुवाउनाले बालबालिकालाई खानाको स्वाद नहुने, पाचन प्रणालीमा समस्या हुने जस्ता समस्या हुने गर्छन् । उनीहरुलाई कुराकानी गरेर, डुलाएर गीत गाएर तथा उनीहरुको हाउभाउमा प्रतिक्रिया जनाउँदै खाना खुवाउनुपर्छ’ भनेर उल्लेख गरिएको छ ।

अहिलेको समयमा हरेक घरमा मोबाईल फोन हुनुसामान्य भईसकेको छ । समय अनुसार सूचना र सञ्चारको पहुँच अध्यस्त हुनु आवश्यक पनि हुन्छ । आधुनिक समयमा रहेर आधुनिक प्रविधिको ज्ञान हुनु जरुरी नै हुन्छ । आधुनिक प्रविधिले गर्दा मानिसको जीवन निकै सहज बनेको छ । मोबाइल फोनले गर्दा पनि मानिसहरुलार्इृ आफ्नो दैनिक जीवन निर्वाह गर्न पनि सहज भईरहेको छ । अहिले त लगभग सबै काम मोबाइल फोनबाट नै हुने भएको छ । हातमा भएको मोबाइल फोनबाट विश्वका हरेक गतिविधि जान्न, बुझ्न र थाहा पाउन सकिन्छ । प्रविधिको विकाससंगै मोबाइल फोन प्रयोगमा आउनु राम्रो कुरा हो । सूचना, सञ्चार, अध्ययन, खोज, अनुसन्धान तथा मनोरञ्जनका लागी मोबाइल फोनको निकै महत्व छ ।

आधुनिक प्रविधिमार्फत मानिसको क्षमता सोच बृद्धि हुनु राम्रो हो । तर यसकाबीच मोबाइल फोनको दुरुपयोग पनि उत्तिकै बढ्दो अवस्थामा छ । जसले गर्दा डिजिटलाईज हुँदै गरेको समाजमा विभिन्न किसिमका चुनौती पनि थपिदै गएको छ । अन्य चुनौती र दुरुपयोगकाबीच मोबाइललाई बालबालिका भुल्याउने माध्यम बनाइरहेका अभिभावकलाई अहिले मोबाइलको लतबाट बालबालिकालाई कसरी मुक्त गर्ने भन्ने चिन्ता उत्तिकै बढ्दो छ ।

झगडा नगरी खाना खाओस्, आफूलाई घरको काम गर्न वाधा नगरोस, एकै ठाँउमा बसिराखोस् भन्दै आफ्नो सहजताका लागि बालबालिकालाई मोबाइल फोन चलाउन दिने अभिभावक अहिले पढाईमा भन्दा मोबाइलमै बढी ध्यान जान थालेपछि चिन्तित छन् । । जीतपुरसिमरा वडा नं. ४ मा बसोबास गर्दै आएकी एक अभिभावकको अनुभव यस्तो छ । ‘बच्चालाई मोबाइल फोन खेलौना जस्तै भएको छ । कामका कारण बच्चाहरुलाई समय दिन सकिदैन । काम गर्न असहज हुने र काममा व्यस्त हुँदा कतै घर बाहिर जान्छ कि भनेर मोबाइल हेर्न दियो । त्यसले गर्दा त बच्चालाई मोबाइलको लत नै बसिसकेको छ । अहिले त्यो लत छुटाउन ठुलो समस्या भएको छ । बच्चालाई धेरै समय मोबाइल फोन चलाउन दिनुहुँदैन भन्ने थाहा छ । तर फोन नदिदा रोएर, खाना नखाएर, झगडा गरेर अर्को समस्या आईलाग्ने रहेछ ।’

आफ्नो सहजताका लागि छोराछोरीलाई मोबाइल फोन धेरै प्रयोग गर्न दिन नहुने ती अभिभावको बुझाई छ । मोबाइल भन्दा पनि अन्य खेलौना, चित्र कोर्न लगाउने, गीत गाउन लगाउने, अन्य रचनात्मक क्रियाकलापतर्फ रुची बढाउनेमा ध्यान दिनुपर्ने ती अभिभावकको तर्क छ । मोबाइलको लत बसिसकेका बालबालिकालाई आफ्नै निगरानीमा केही समय ज्ञानगुनका सामाग्री हेर्न लगाउने र मोबाइल फोनको अत्यधिक प्रयोग गर्दा हुने असरका विषयमा सचेत गराउन सकिनेछ ।

मोबाइल फोनको अत्यधिक प्रयोगको साना बालबालिकामा मानसिक असर पर्नुका साथै आँखामा समेत प्रत्यक्ष असर परेको घटना बढ्दो अवस्थामा छ । आँखाको समस्या लिएर अस्पताल धाउनुपर्ने बाध्यता छ । त्यति मात्र नभएर सानो उमेरमै बालबालिकाले चस्मा लगाउनुपर्ने अवस्था समेत छ ।

आँखा रोग बिशेषज्ञ एवम् सर्जन डा. जाहिर अंसारीले मोबाइलको अत्यधिक प्रयोगले बालबालिकालाई नकारात्मक असर गरिरहेको बताउनुहुन्छ । लामो समयसम्म मोबाइल, ल्यापटप चलाउने वा एकहोरो ढङगले लामो समय पढाई लेखाई गर्नाले बच्चाहरुको आँखा कमजोर हुने सम्भावना बढी हुने अंसारीले बताउनुभयो । जसले गर्दा नजिकको सबै अक्षर तथा वस्तु सफा देखे पनि टाढाको अक्षर तथा वस्तु धमिलो देखिने समस्या हुनसक्ने अंसारीको भनाई छ । उहाँका अनुसार मोबाइल फोनको प्रयोगले बच्चाहरुको आँखासंगै दिमागमा समेत असर गर्छ । बच्चाहरु सानो कुरामा रुने, कराउने, रिसाउने, एक ठाउँमा शान्तले नबस्ने वा सुस्त बस्ने, पढ्न रुची नराख्ने जस्ता समस्या हुने गरेको छ ।

एकोहोरो मोबाइल फोन हेर्दा पर्ने असरः
-नजिक सहज तर टाढाको हेर्न गारो हुन्छ । (मायोपिया)
-धरै अथवा लामो समय आँखा प्रयोगले आँखामा असजिलो महसुस हुने, आँखाबाट धेरै पानि बग्ने, टाउको दुख्ने, आँखा दुख्ने, टाउको भारी हुने । (अस्थेनोपिया)
-धरै जसो आँखा सुख्खा हुने । (अक्सुलर स्रफेस रोगहरु)
बच्चाहरुमा मोबाइल फोनको लत कम गर्ने उपायहरुः
-एकहोरो मोबाइल हेर्ने बानी भएको बालबालिकालाई मोबाइल हेर्ने समय कम गर्दै लैजाने ।
-बच्चाहरुलाई मोबाइलको साटो अन्य खेलौना दिने, चित्रहरु कोर्न लगाउने, गीत गाउँन नाच्न लगाउने, किताबहरु पढ्न लगाउने, बच्चाहरुको रुचि भएको कुराहरु सिक्न दिने, रचनात्मक कार्यहरु गर्न लगाउने ।
-अभिभावकहरुले आफ्नो बच्चाहरुलाई प्रशस्त समय दिने र उनीहरु संग घुलमिल हुने ।
-कुरा बुझ्न सक्ने उमेरका बच्चाहरुलाई भने मोबाईलबाट पर्ने नकारात्मक असरहरुको बारेमा जानकारी दिने ।
-दुई वर्ष भन्दा मूनिको बच्चाहरुलाई मोबाईल हेर्न नदिने ।
-सामाजिक सञ्जालमा विभिन्न प्रकारका भिडियोहरु हेरेर बच्चाहरुमा नकारात्मक धारणा पैदा हुने गर्छ । त्यसैले बच्चाहरुलाई मोबाइल प्रयोग गर्न दिदाँ उनीहरुले सामाजिक संजालमा हेर्ने कुराहरुलाई अभिभावकहरुले ध्यान दिने ।
-बच्चाहरुले पढ्ने, लेख्ने गर्दा उनीहरुलाई नआएको कुराहरु सकेसम्म आफैले सिकाउने ।

अहिलेको समयमा अभिभावकहरुले यी कुराहरुलाई ध्यानमा राखे बच्चाहरुको आँखाको साथ पढाई, लेखाई र मानसिक विकासमा नकारात्मक असर पर्दैन । जसले परिवार र समाजलाई अघि बढाउन सहयोग गर्ने छ । अभिभावकले अत्यधिक मोबाइल चलाउँदा पनि बालबालिकालाई मोबाइलको लत बस्न सक्छ, त्यसैले अभिभावकले बालबालिकाको अगाडी मोबाइलको प्रयोग कम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्