महानगरले ल्याए बजेट


eShilalekh

१३ असार २०७८, आईतवार ०२:४३

वीरगन्ज महानगरपालिकाले स्वास्थ्य र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि साढे तीन अर्ब रुपैयाँ बढीको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। 

पहिलो र दोस्रो लहरको कोरोना संक्रमणको हटस्पट बनेको वीरगन्ज महानगरले सम्भावित तेस्रो लहरलाई मध्यनजर गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम तथा बजेट ल्याएको हो। 

प्रदेश २ को एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको बिहीबार आयोजित नवौं नगरसभामा उपप्रमुख एवं राजस्व परामर्श समितिकी संयोजक शान्ति कार्कीले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।

विनियोजित बजेटमध्ये चालू खर्च तर्फ १ अर्ब ८६ करोड ३५ लाख ४२ हजार ९ सय रुपैयाँ अर्थात् ५२.४४ प्रतिशत विनियोजन गरिएको छ। पुँजीगत खर्चतर्फ  १ अर्ब ६२ करोड ३३ लाख ३० हजार १ सय रुपैयाँ अर्थात् ४५.६८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ६ करोड ७० लाख ६४ हजार रुपैयाँ अर्थात् १.८८ प्रतिशत खर्च हुने अनुमान महानगरको छ। बजेटमा सबैभन्दा बढी पूर्वाधार विकास क्षेत्रमा १ अर्ब ३५ करोड ६६ लाख १८ हजार अर्थात् ३८.१७ प्रतिशत विनियोजन गरिएको छ। सामाजिक विकास क्षेत्रमा १ अर्ब १५ करोड ५८ लाख ७२ हजार अर्थात ३२.५१ प्रतिशत, कार्यालय सञ्चालनतर्फ  ८० करोड ७३ लाख ४३ हजार रुपैयाँ अर्थात् २२.७३ प्रतिशत महानगरले विनियोजन गरेको छ। 

आर्थिक विकास क्षेत्रमा १० करोड ८ लाख ३० हजार रुपैयाँ अर्थात् २.८४ प्रतिशत,  सुशासन तथा अन्तरसम्बन्धी क्षेत्रतर्फ (वन, वातावरण तथा विपद्समेतमा गरी) १३ करोड ३२ लाख ७४ हजार रुपैयाँ अर्थात् ३.७५ प्रतिशत खर्च हुने अनुमान महानगरको छ। 

महानगरले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा कोभिड महमारीको सम्भावित  तेस्रो  लहरलाई मध्यनजर गरी स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको नगर प्रमुख विजय सरावगीले बताए।

महानगरले स्वास्थ्य क्षेत्रका लागि २१ करोड ३० लाख १५ हजार रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै प्रदेश १ को एक मात्रै महानगर विराटनगर महानगरपालिकाले गौरवका आयोजना र भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखेर ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट ल्याएको छ। 

यो वर्ष सानो आकारको बजेट प्रस्तुत हुने भनिए पनि महानगरले अघिल्लो वर्षकै हाराहारीको बजेट ल्याएको हो। चालू आर्थिक वर्षमा महानगरले ४ अर्ब २३ करोड ३ लाख ७० हजार ५७९ रुपैयाँको बजेट ल्याएको थियो। आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अघिल्लो वर्षको तुलनामा करिब १३ करोड मात्रै कम बजेट ल्याएको छ।

बिहीबार उपप्रमुख इन्दिरा कार्कीद्वारा आठौं नगरसभामा सार्वजनिक नीति तथा कार्यक्रम र बजेटमा नगरस्तरीय गौरवको आयोजना, सभागृह, ल्याण्डफिल्ड साइट निर्माण र सडक निर्माण मुख्य प्राथमिकतामा देखिएका छन्। 

महानगरले वडास्तरीय आयोजनाहरूमा २६ करोड ७८ लाख, नगरस्तरीय गौरवको आयोजनामा १७ करोड ३८ लाख, वीरेन्द्र सभागृह निर्माणका लागि १९ करोड ५० लाख, ल्याण्डफिल्ड साइड, अन्तर्राष्ट्रिय सभाहलको जग्गा खरिदका लागि १५ करोड विनियोजन गरेको छ।

यस्तै विराट राजाको दरवार क्षेत्रका लागि ५ करोड, सन्ध्याकाल आरतीका लागि २ करोड, हिमालय रोड निर्माण गर्न ३ करोड, महानगर आवास योजनाका लागि ९० लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड, फ्लाई ओभरका निर्माणका लागि २ करोड ४५ लाख, प्रधानमन्त्री पार्कका लागि ५ करोड र अन्य नगरस्तरीय आयोजनाका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको छ। क्रमागत योजनाको भुक्तानीका लागि २५ करोड ३५ लाख, शिक्षातर्फ ५५ करोड ७७ लाख, युवा तथा खेलकुदतर्फ १ करोड ६१ लाख, स्वास्थ्यतर्फ १८ करोड १ लाख र विपद् व्यवस्थापनतर्फ ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

आगामी वर्ष कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ४६ करोड ७० लाख ५२ हजार ९ सय २५, पुँजीगततर्फ ३ अरब ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्थातर्फ ५ करोड रुपैयाँ खर्च हुने महानगरले अनुमान गरेको छ। कार्यालय सञ्चालनतर्फ कुल बजेटको ११ प्रतिशत र पुँजीगततर्फ ८९ प्रतिशत रहेको प्रस्तुत बजेटमा उल्लेख छ। त्यसैगरी, भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ। बिहीबार नवौं नगर सभामा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित भएको हो। व्यवस्थापन आन्तरिक आयबाट रु. १ अर्ब २० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु. १ अर्ब ७७ करोड २९ लाख ८३ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट प्राप्त रु. ४४ करोड ८२ लाख ८२ हजार प्रक्षेपण गरिएको छ। त्यस्तै जनसहभागिताबाट रु. ३० करोड, बैंक मौज्दातबाट १ अर्ब, मर्मत सम्भार कोषबाट ३ करोड, सडक बोर्डबाट रु. ३ करोड र जिल्ला समन्वय समिति चितवनबाट रु. ३ करोड रहने महानगरपालिकाले प्रक्षेपण गरेको छ।

महानगरले चालू आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका र अधुरो योजनाहरू समयमै सम्पन्न गर्न भन्दै एकमुष्ट रु. ९८ करोड बजेट विनियोजन गरेको छ। महानगरका वडाहरूमा समानुपातिक विकासका लागि हरेक वडामा १ करोड ७० लाखका दरले ४९ करोड ३० लाख, भौतिक पूर्वाधार तथा सहरी विकासका लागि ४१ करोड, शिक्षा क्षेत्रको विकास एवं सुधारका लागि १२ करोड ५० लाख, स्वास्थ्य सेवा क्षेत्रमा ९ करोडका साथै महानगर कोभिड–१९ नियन्त्रण तथा प्रभावकारी उपचारका लागि १ करोड ९० लाखको कोष बजेट छुट्ट्याइएको महानगरले जनाएको छ। महानगरले कृषिलाई प्राथमिकतामा राखेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न रु. २ करोड  बजेट विनियोजन गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्