जीतपुरसिमरा महोत्सवको तयारी तिव्र, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड दिईने


eShilalekh

७ फाल्गुन २०८०, सोमबार २१:१६

सिमराः जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा फाल्गुन तेस्रो सातादेखि प्रथम जीतपुरसिमरा महोत्सव हुँदैछ । जीतपुरसिमरा ३ स्थित मालपोत कार्यालय नजिकको खुल्ला चौरमा फाल्गुन १८ गतेदेखि २९ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।

‘कृषी, पर्यटन, खेल, उद्योग र व्यापार, जीतपुरसिमरा, बारा मधेस समृद्धिको मुख्य आधार’ को नारासहित केही दिन अघिदेखि तयारी थालेको संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको उदेश्यका विषयमा जानकारी गराएको छ । आफ्नो नेतृत्वमा पहिलो पटक महोत्सवको आयोजना गर्न लागेको संघले १२ दिने महोत्सवले सुस्त रहेको व्यावसायिक क्षेत्रलाई चलायमान बनाउने अपेक्षा लिएको छ ।

संघका अध्यक्ष मोहन शर्मा लामिछानेले आर्थिक मन्दीका कारण ठप्प व्यावसायिक क्षेत्रलाई एकै थलोमा उभ्याउने र चलायमान बनाउन प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उदेश्य महोत्सवले राखेको बताए । महोत्सवमा समाजको हरेक क्षेत्रलाई समेटन लागिएको बताउँदै लामिछानेले व्यवसायिक क्षेत्रलाई उर्जा थप्ने गरी प्रयास भईरहेको जानकारी दिए ।

‘हाम्रो लक्ष्य सबैलाई एकै थलोमा उभ्याउने, व्यावसायिक संस्था वा व्यक्तिले उत्पादन, कला, सेवाको प्रर्वद्धन गर्न वातावरण बनाउने हो’ लामिछानेले भने ‘पक्कै पनि यो महोत्सव उहाँहरुका लागि एउटा प्लाटफर्म बन्नेछ र मन्द अवस्थामा रहेको व्यावसायिक क्षेत्रलाई चलायमान बनाउन कोशेढुंगा साबित हुनेछ ।’

लामिछानेले महोत्सवमा विभिन्न क्षेत्रको करिब दुई सय स्टल रहनेछन् । उक्त स्टलमा आर्थिक, शैक्षिक, पर्यटन, कृषीलगायत विभिन्न क्षेत्रको प्रदर्शनी रहनेछ । महोत्सव अवलोकन गर्न आउने नागरिकले ती व्यावसायिक क्षेत्रका बारेमा बुझ्न पाउने र आवश्यकता अनुसारका सामाग्री खरिद तथा सेवाबारे परामर्श लिन सक्ने लामिछानेको भनाई छ ।

महोत्सवको तयारी सुरु भएसंगै व्यवसायीहरु उत्साहित पाएको बताउँदै लामिछानेले करिब एक सय स्टल बुक भईसकेको बताए । महोत्सवलाई करिब एक लाख भन्दा बढी नागरिकले अवलोकन गर्ने अपेक्षा संघले राखेको छ । महोत्सवमा प्रवेशका लागि विद्यार्थीले २५ र अन्यले ५० रुपैया शुल्क तिनुपर्नेछ भने अपांगता र जेष्ठ नागरिकले निःशुल्क अवलोकन गर्न सक्नेछन् ।

महोत्सवलाई सफल बनाउनका लागि स्थानीय, प्रदेश र संघीय सरकार, निजी क्षेत्रबाट सहयोगको अपेक्षा संघले राखेको लामिछानेले बताएका छन् । महोत्सव आयोजनाका लागि स्थानीय सरकार, प्रशासन र सम्बन्धित क्षेत्रबाट स्वीकृति प्राप्त भईसकेको लामिछानेले जानकारी दिए ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थितीमा दैनिकरुपमा सांस्कृतिक कार्यक्रम, कुस्ती प्रतियोगिता, बाल उद्यानलगायत विभिन्न मनोरञ्जनका क्षेत्रलाई समेटिने संघका महासचिव प्रकाश गिरीले बताए । उनले महोत्सवका तयारीका लागि २० वटा उपसमिति गठन गरी तयारी भईरहेको समेत जानकारी दिए ।

पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष सञ्जय साह, संस्थापक अध्यक्ष घनश्याम गिरी, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, प्रचार समितिका संयोजक राजुराज गिरीलगायतले मन्तब्य राखेका थिए । पत्रकार सम्मेलनमा उपाध्यक्ष गजेन्द्र गुप्ता, सचिव बिष्णुप्रसाद अधिकारीलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्