जीतपुरसिमरा महोत्सवको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने


eShilalekh

१० फाल्गुन २०८०, बिहीबार १९:०६

सिमराः जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको ‘प्रथम जीतपुरसिमरा महोत्सव’ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्ने भएका छन् । आयोजकको निम्तो स्विकार गर्दै प्रचण्डले महोत्सव उद्घाटनमा आउने प्रतिबद्धता जनाएका हुन् ।

प्रचण्डलाई आमन्त्रण गर्न बारा क्षेत्र नं. ४ का सांसद एवम् पूर्वमन्त्री किसान श्रेष्ठ, संघका अध्यक्ष मोहन शर्मा लामिछाने प्रधानमन्त्रीको कार्यालय पुगेका थिए । संघका अध्यक्ष लामिछानेले प्रधानमन्त्री प्रचण्ड उद्घाटन समारोहमा आउने निश्चित भएको बताए ।

जीतपुरसिमरा ३ स्थित मालपोत कार्यालय नजिकको खुल्ला चौरमा फाल्गुन १८ गतेदेखि महोत्सव सुरु हुदैछ । ‘कृषी, पर्यटन, खेल, उद्योग र व्यापार, जीतपुरसिमरा, बारा मधेस समृद्धिको मुख्य आधार’ को नारासहित आयोजना गर्न लागिएको महोत्सव फाल्गुन २९ गतेसम्म संचालन हुनेछ ।

आर्थिक मन्दीका कारण ठप्प व्यावसायिक क्षेत्रलाई एकै थलोमा उभ्याउने र चलायमान बनाउन प्रवद्र्धन तथा प्रोत्साहन गर्ने उदेश्यसहित महोत्सवको आयोजना गरिएको हो । करिब दुई सय स्टल रहने महोत्सवमा आर्थिक, शैक्षिक, पर्यटन, कृषीलगायत विभिन्न क्षेत्रको प्रदर्शनी रहनेछ ।

महोत्सवलाई करिब एक लाख भन्दा बढी अवलोकन गर्ने अपेक्षा संघले गरेको छ । महोत्सवमा प्रवेशका लागि विद्यार्थीले २५ र अन्यले ५० रुपैया शुल्क तिनुपर्नेछ भने अपांगता र जेष्ठ नागरिकले निःशुल्क अवलोकन गर्न सक्नेछन् ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थितीमा दैनिकरुपमा सांस्कृतिक कार्यक्रम, कुस्ती प्रतियोगिता, बाल उद्यानलगायत विभिन्न मनोरञ्जनका क्षेत्रलाई समेटिने संघका महासचिव प्रकाश गिरीले बताएका छन् । महोत्सवका तयारीका लागि २० वटा उपसमिति गठन गरी तयारी भईरहेको महासचिव गिरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्