‘मधुरम’ ब्राण्डको चामल बजारमा ल्याउँदै जीतपुरको शिवबाबा ग्रुप


निलिसा वर्मा

११ फाल्गुन २०८०, शुक्रबार १६:५२

सिमराः करिब अढाई दशकदेखि धान र चामलको कारोबार गर्दै आएको जीतपुरस्थित शिवबाबा ग्रुपले अब आफ्नै ब्राण्ड ‘मधुरम’ चामल बजारमा ल्याउने भएको छ । झण्डै १५ करोडको लगानीमा स्टीम राईस मिल निर्माण गरेको शिवबाबाले आफ्नै ब्राण्ड बजारमा ल्याउने भएको हो ।

सोना र जिरा राईस उत्पादन गर्ने लक्ष्यसहित जीतपुरमा निर्माण गरिएको राईस मिलको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । शिवबाबा ग्रुपका अध्यक्ष प्रयाग गुप्ताले धार्मिक विधिअनुसार पूजापाठ गर्दै मिलको शुभारम्भ गरेका हुन् ।

स्टीम राईस मिल उद्घाटन भएसंगै शिवबाबा ग्रुपले मधुरम ब्राण्डको चामलको उत्पादन तथा बिक्री वितरण गर्नेछ । सन् १९९७ मा स्थापना भएको शिवबाबा ग्रुपले व्यवसायलाई स्तरोन्नती गर्दै मिल निर्माण गरेको हो । उक्त मिलबाट प्रत्येक घण्टामा पाँच टन चामल उत्पादन हुने बताइएको छ ।

स्थानीय थोक विक्रेताले राईस मिलबाट चामल खरिद गरी बिक्रीवितरण गर्न सक्नेछन् । लामो समयदेखि चामलको कारोबार गर्दै आएको उक्त ग्रुपले सर्वसाधारणको स्वास्थ्यलाई समेत ध्यानमा राखेर चामल उत्पादन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्