आजदेखि दादुरा–रुबेलाविरुद्धको खोप लगाईदै


eShilalekh

१३ फाल्गुन २०८०, आईतवार १०:३२

सिमराः राष्ट्रिय खोप अभियान अन्तर्गत आइतबारदेखि दादुरा–रुबेलाविरुद्धको खोप लगाईदैछ । उच्च जोखिमको सूचिमा रहेको बारामा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यो खोप लगाउने तयारी छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाराका अनुसार पहिलो चरण अन्तर्गत जिल्लाको ६ वटा स्थानीय तहमा फाल्गुन १३ गतेदेखि १७ गतेसम्म खोप अभियान संचालन हुँदैछ । पहिलो चरणमा जीतपुरसिमरा, कलैया, परवानीपुर, प्रसौनी, फेटा र बिश्रामपुरमा खोप अभियान संचालन हुने जनस्वाथ्य प्रमुख रामनरेश यादवले जानकारी दिए ।

बारामा तीन चरणमा खोप अभियान संचालन हुने बताउँदै यादवले झण्डै दुई लाख ६४ हजार बालबालिकालाई खोप लगाउने तयारी भएको बताए ।

जीतपुरसिमरामा ३५ हजार बालबालिकालाई खोप
जीतपुरसिमरा उपमहानगरपालिकाका करिब ३५ हजार बालबालिकालाई आइतबारदेखि दादुरा–रुबेलाविरुद्धको खोप लगाईदैछ । उपमहानगरपालिकाभित्रका ९ महिनादेखि १५ वर्ष मूनिका बालबालिकालाई खोप लगाउन लागिएको हो ।

फाल्गुन १३ गतेदेखि १७ गतेसम्म नगरभित्रका एक सय २५ केन्द्रबाट एकसाथ यो खोप लगाईनेछ । खोप लगाउनका लागि उपमहानगरपालिकाको प्रत्येक वडामा पाँच वटासम्म खोप केन्द्र राख्ने तयारी गरिएको छ ।

उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रवी भाष्करका अनुसार खोप अभियान संचालन गर्नका लागि ५० खोपकर्ता, २५ स्वास्थ्यकर्मी, एक सय ५० स्वयंसेवक खटिनेछन् । उपमहानगरपालिका भित्रका सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउने गरी अभियान संचालन गरिने भाष्करले जानकारी दिए ।

मधेस प्रदेशमा करिब २० लाख बालबालिकालाई खोप
राष्ट्रिय खोप अभियान अन्तर्गत मधेस प्रदेशमा १९ लाख ४७ हजार एक सय ४२ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने तयारी छ । मधेस प्रदेशको सर्लाही, महोत्तरी र धनुषा जिल्लामा दादुराका बिरामी देखिएका छन् ।

२०७९ मंसिरदेखि २०८० मंसिरसम्म सर्लाहीमा ८७, महोत्तरीमा एक सय २३ र धनुषामा ५४ जना दादुराका बिरामी छन् । जसमध्ये ७४ प्रतिशत ९ महिनादेखि १५ वर्षमूनिका बालबालिका छन् ।

सरकारले तराईका २१ र उपत्यकाका तीन गरी २४ जिल्लालाई दादुरा–रुबेला संक्रमणको उच्च जोखिममा राखेको छ । जसकारण ९ वर्षदेखि १५ वर्षमूनिका बालबालिकालाई यो खोप अनिवार्य लिनका लागि आग्रह गरिएको छ । जोखिम कम भएका अन्य ५३ जिल्लामा ९ महिनादेखि पाँच वर्षमूनिका बालबालिकालाई यो खोप लगाउन भनिएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्