जीतपुरसिमराका ३५ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाईदै


eShilalekh

१२ फाल्गुन २०८०, शनिबार १७:२५

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाका करिब ३५ हजार बालबालिकालाई आइतबारदेखि दादुरा–रुबेलाविरुद्धको खोप लगाईदैछ । उपमहानगरपालिकाभित्रका ९ महिनादेखि १५ वर्ष मूनिका बालबालिकालाई खोप लगाउन लागिएको हो ।

फाल्गुन १३ गतेदेखि १७ गतेसम्म नगरभित्रका एक सय २५ केन्द्रबाट एकसाथ यो खोप लगाईनेछ । खोप लगाउनका लागि उपमहानगरपालिकाको प्रत्येक वडामा पाँच वटासम्म खोप केन्द्र राख्ने तयारी गरिएको छ ।

उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रवी भाष्करका अनुसार खोप अभियान संचालन गर्नका लागि ५० खोपकर्ता, २५ स्वास्थ्यकर्मी, एक सय ५० स्वयंसेवक खटिनेछन् । उपमहानगरपालिका भित्रका सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउने गरी अभियान संचालन गरिने भाष्करले जानकारी दिए ।

बारामा दुई लाख ६४ हजार बालबालिकालाई खोप

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार करिब बारामा दुई लाख ६४ हजार बालिबालिकालाई यो खोप लगाइनेछ । सरकारी तथ्यांकले बारामा दुई लाख ३० हजार बालबालिका देखाएपनि १६ वटा पालिकाको विवरणबाट दुई लाख ६४ हजार बालबालिका देखिएका छन् ।

जनस्वाथ्य कार्यालयका प्रमुख रामनरेश यादवले बारामा तीन चरणमा खोप अभियान संचालन हुनेछ । पहिलो चरणमा जीतपुरसिमरा, कलैया, परवानीपुर, प्रसौनी, फेटा, बिश्रामपुरमा खोप लगाईनेछ ।

मधेस प्रदेशमा करिब २० लाख बालबालिकालाई खोप

राष्ट्रिय खोप अभियान अन्तर्गत मधेस प्रदेशमा १९ लाख ४७ हजार एक सय ४२ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने तयारी छ । मधेस प्रदेशको सर्लाही, महोत्तरी र धनुषा जिल्लामा दादुराका बिरामी देखिएका छन् ।

२०७९ मंसिरदेखि २०८० मंसिरसम्म सर्लाहीमा ८७, महोत्तरीमा एक सय २३ र धनुषामा ५४ जना दादुराका बिरामी छन् । जसमध्ये ७४ प्रतिशत ९ महिनादेखि १५ वर्षमूनिका बालबालिका छन् ।

सरकारले तराईका २१ र उपत्यकाका तीन गरी २४ जिल्लालाई दादुरा–रुबेला संक्रमणको उच्च जोखिममा राखेको छ । जसकारण ९ वर्षदेखि १५ वर्षमूनिका बालबालिकालाई यो खोप अनिवार्य लिनका लागि आग्रह गरिएको छ । जोखिम कम भएका अन्य ५३ जिल्लामा ९ महिनादेखि पाँच वर्षमूनिका बालबालिकालाई यो खोप लगाउन भनिएको छ ।

यस पटकको दादुरा–रुबेला खोप अभियानमा पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोपको छुट मात्रा पनि दिइने भएकोले एकीकृत खोप अभियानको रुपमा सञ्चालन गर्न लागिएको छ । यसको उद्देश्य विगत तीन वर्षको अवधिमा कोभिड–१९ को विश्वव्यापी महामारीबाट नियमित खोप सेवामा समेत असर परेकोले घट्न गएको नियमित खोपको कभरेजलाई परिपूर्ति गर्ने हो ।

के हो दादुरा रोग?
दादुरा एक प्रकारको आरएनए भाइरसबाट लाग्ने संक्रामक रोग हो । यो भाइरस मानिसमा मात्र सर्दछ र धेरै छिटो सर्ने अतिसंक्रामक किसिमको भाइरस हो । त्यसैले यो रोगले छिट्टै नै महामारीको रुप लिन सक्छ ।

यो रोग कुनै पनि उमेरका मानिसलाई हुनसक्छ तर पाँच वर्ष मूनिका बालबालिकामा यो रोग धेरै हुने गरेको छ । दादुराविरुद्धको खोप उपलब्ध हुनुभन्दा पहिला प्राय सबै बालबालिकाहरू यो रोगबाट संक्रमित हुन्थे र बालबालिकको मृत्यु गराउने प्रमुख कारणहरू मध्ये एक यो रोग हुने गरेको थियो । यो रोग विरुद्धको खोपको प्रयोगपछि मृत्युदरमा कमी आएको तथ्यांकले देखाएको छ ।

कसरी सर्छ दादुरा रोग?
दादुरा संक्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा दादुराको भाइरस हुन्छ । यो भाइरस नाक तथा घाँटीमा वृद्धि भई यसले श्वासप्रश्वास नलि एवम् शरिरको अन्य भित्री अंगहरूमा संक्रमण गर्छ । रोगीको खकार, सिंगानको सम्पर्कमा आउँदा वा रोगीले खोक्दा वा हाच्छिउँ गर्दा निस्कने छिर्काहरू हावाको माध्यमबाट यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सर्दछ ।

शरीरमा राता बिमिराहरू देखापर्नु भन्दा चार दिन अगाडिदेखि र बिमिराहरू देखा परेको चार दिन पछिसम्म यो भाइरस दादुरा रोगीबाट अर्को व्यक्तिमा सर्न सक्छ ।

दादुराको लक्षण के हुन्?
– दादुरा रोगको पहिलो लक्षण उच्च ज्वरो आउनु हो । रोगीसँग सम्पर्क भएको १०–१२ दिनपछि ज्वरो आउँन थाल्छ ।
– ज्वरोसँगै रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने वा आँखा राता हुने लक्षणहरू देखा पर्दछन् र यी लक्षणहरू २–४ दिनसम्म रहन्छन् भने कतिपय व्यक्तिमा एक देखि सात दिनसम्म रहन सक्छ ।
– शरीरमा राता बिमिराहरू देखिन्छन् । दादुराको रोगीसँग सम्पर्क भएको १४ दिनसम्म (सामान्यतयाः ७–२१ दिनसम्म) बिमिराहरू देखा पर्छन् र बिमिराहरू ५–६ दिनसम्म रहन सक्छ ।
– बिमिराहरू सबैभन्दा पहिला अनुहारमा, कानको पछाडि र गर्दनको माथिल्लो भागमा देखा पर्छन् र तीन दिनमा शरीरको सबै भागमा सर्दै हात खुट्टामा पनि देखा पर्न थाल्छ ।

दादुराको संक्रमण भएमा स्वास्थ्यमा के समस्या आउँछ ?
झाडापखाला लाग्ने, कान पाक्ने, न्युमोनिया, मस्तिष्कमा कडा खालको सुजन हुने, कम्पन आउने, आँखामा समस्या भई अन्धोपनको सम्भावना बढ्ने, जटिलताको कारणबाट विरामीको मुत्यु पनि हुन सक्छ ।

यी हुन् दादुराबाट बच्ने उपाय:
दादुरा रोगको कुनै निश्चित औषधी उपचार छैन । तर यो रोगको कारणबाट देखिने लक्षण र जटिलताहरूको उपचार गर्न सकिन्छ । निमोनिया भएमा निमोनियाको उपचार गर्ने, झाडापखाला लागेमा पुर्नजलीय झोल खुवाएर उपचार गर्ने । दादुरा रोग लागेका प्रत्येक बिरामीलाई भिटामिन ए खुवाउनु पर्दछ ।
– तोकिएको उमेरमा दादुरा रोग विरुद्धको खोप दिनु नै यो रोगबाट बच्ने एक मात्र प्रभावकारी एवम् भरपर्दो उपाय हो ।
-यो रोग विरुद्ध दिइने दादुरा–रुबेला खोप नियमित खोप सेवाको माध्यमबाट ९ महिनाको उमेरमा पहिलो मात्रा र १५ महिनाको उमेरमा दोस्रो मात्रा लगाउनु पर्दछ ।
-दादुरा–रुबेला खोप अभियानमा दिइने दादुरा–रुबेला खोप अतिरिक्त मात्रा हो ।
– दादुरा–रुबेला रोग विरुद्धको प्रतिरक्षा शक्ति बृद्धि गर्न खोप अभियानमा तोकिएको उमेर समूहका व्यक्तिहरू सबैले दादुरा–रुबेला खोपको थप मात्रा लगाउनु पर्दछ ।

के हो रुबेला रोग ?
रुबेला पनि आरएनए भाइरसबाट लाग्ने संक्रामक रोग हो । यो भाइरसबाट संक्रमण हुँदा दादुरामा जस्तै शरीरमा राता बिमिराहरू देखापर्न सक्छन् र हल्का ज्वरो आउन सक्छ । यो रोग बालबालिका र वयस्कहरूमा देखापर्न सक्छ ।

गर्भावस्थाको पहिलो तीन महिनामा महिलालाई रुबेला संक्रमण भएमा ती महिलाबाट जन्मिने शिशुहरू विभिन्न प्रकारका जन्मजात विकृति भएर जन्मिने, गर्भपतन हुने वा मृत बच्चा जन्मिने हुनसक्छ, जसलाई कन्जेनिटल रुबेला सिण्ड्रोम (सिआरएस) भनिन्छ ।

यसरी सर्छ रुबेलाको संक्रमणः
रुबेला रोग लागेको व्यक्तिले खोक्दा, हाच्छ्यिू गर्दा, श्वास प्रश्वासबाट यो रोगको भाइरस अर्को व्यक्तिमा सर्दछ । यो रोगका भाइरसहरू नाक र घाँटीमा वृद्धि हुन्छन् र शरीरको अन्य भागमा सर्दछन् र विभिन्न लक्षणहरू देखा पर्दछन् ।

शरिरमा बिमिराहरू देखापर्नु भन्दा सात दिन अगाडिदेखि बिमिराहरू देखिएको पाँच दिनसम्म यो रोगका भाइरसहरू अन्य व्यक्तिमा सर्न सक्छन् । कन्जेनिटल रुबेला सिण्ड्रोम (सिआरएस) भएर जन्मेको बच्चाले १२ महिनाको उमेरसम्म यो भाइरस अरुलाई सार्न सक्छ ।

रुबेलाको लक्षण के हुन् ?
–यो रोगको भाइरस शरिरमा प्रवेश गरेको १४ दिन पछि रुबेला रोगका लक्षणहरु देखा पर्छन् ।
–यो रोगको पहिलो चिन्ह शरिरमा राता बिमिरा आउनु हो । शरिरमा बिमिरा आउने, ज्वरो आउने ।
–घाँटीका ग्रन्थीहरू बढ्ने यो रोगका मुख्य लक्षण हुन् ।
–बिमिरा आउँदा शुरुमा अनुहारमा, त्यसपछि शरिरको विभिन्न भागहरू र खुट्टासम्म पैmलन्छ । यी बिमिराहरू तीन दिनपछि आफै हराउँदै जान्छ ।

रुबेलाको संक्रमण भएमा के समस्या आउन सक्छ ?
हाड जोर्नी सुन्निने, दुख्ने, रक्तश्राव हुने, मस्तिष्कमा कडा खालको सुजन हुने, गर्भावस्थामा संक्रमण भएमा गर्भपतन हुने वा मृत शिशु जन्मिने, बहिरोपना, अन्धोपना मानसिक मन्दता, जटिलताका कारण मृत्यु समेत हुन सक्छ ।

रुबेलाको उपचार र बच्ने उपायः
– दादुरा रोगको जस्तै रुबेला रोगको पनि निश्चित औषधी उपचार छैन । यो रोगको उपचार भनेको यसका लक्षण वा जटिलताहरूको उपचार गर्नु हो ।

– तोकिएको उमेरमा रुबेला रोग विरुद्धको खोप दिनु नै यो रोगबाट बच्ने एक मात्र प्रभावकारी एवम् भरपर्दो उपाय हो ।
– यो रोगविरुद्ध दिइने दादुरा–रुबेला खोप नियमित खोप सेवाको माध्यमबाट ९ महिनाको उमेरमा पहिलो मात्रा र १५ महिनाको उमेरमा दोस्रो मात्रा लगाउनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्