आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स र गुप्ता मोटर्सबीच सम्झौता, बीमा दाबीलाई नगदरहित बनाईने


eShilalekh

२० फाल्गुन २०८०, आईतवार १५:१२

सिमराः आइजीआइ प्रुडिन्सयल इन्स्योरेन्स र कलैयामा रहेको गुप्ता मोटर्सबीच बीमा दाबीको प्रक्रियालाई नगदरहित बनाउन द्धीपक्षीय सम्झौता भएको छ । सवारी साधन दुर्घटना वा क्षतिपश्चातको बीमा दाबी प्रक्रियालाई सहज बनाउन दुई पक्षबीच सम्झौता भएको हो ।

सम्झौतापश्चात अब आइजीआइ प्रुडिन्सयल इन्स्योरेन्सबाट आफ्नो सवारी साधनको बीमा गराएका ग्राहकले गुप्ता मोटर्सबाट नगदरहित सेवा लिन सक्नेछन् । अर्थात सवारी साधन दुर्घटना वा क्षति भई गुप्ता मोटर्समा मर्मत गर्दा बीमालेखको सिमासम्मको नगद तिर्नु पर्दैन । बीमा दाबी अनुसार उक्त सवारी साधन मर्मत गर्दा लाग्ने रकम बीमा कम्पनीले गुप्ता मोटर्सलाई उपलब्ध गराउनेछ ।

यसअघि ग्राहकले आफ्नो सवारी साधन मर्मत गर्दा आफूले पहिला नगद तिर्ने र पछि बीमा कम्पनीसंग दाबी गरेर लिने गरिएको थियो । उक्त झन्झटिलो प्रक्रियालाई सहज बनाउन र ग्राहकलाई सरल सेवा प्रदान गर्न सम्झौता गरिएको बताइएको छ ।

उक्त सम्झौतापछि न्युनतम शुल्कबाहेक बीमालेखको सिमासम्मको रकम इन्स्योरेन्स कम्पनीले सिधै मोटर्सलाई उलपब्ध गराउदा ग्राहकलाई सहज हुने आइजीआइ प्रुडिन्सयल इन्स्योरेन्सका मधेस प्रदेश प्रमुख अमरबहादुर गौतमले जानकारी दिए । सम्झौतापत्रमा गौतम र गुप्ता मोटर्सका सञ्चालक रितेशकुमार गुप्ताले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्