जीतपुरसिमरा क्रिकेट कप शनिबारदेखि सुरु, उद्घाटन खेलमा आयोजक र पर्सा भिड्दै


eShilalekh

२ चैत्र २०८०, शुक्रबार २०:४५

सिमराः प्रथम जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित सेज क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जीतपुरसिमरा क्रिकेट क्लब र पर्सा क्रिकेट संघ भिड्दैछन् ।

राउण्ड रोबिनका आधारमा संचालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । चैत्र १० गतेसम्म संचालन हुने प्रतियोगितामा सहभागी भएका ६ वटा टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक, पर्सा क्रिकेट संघ र कलैया क्रिकेट क्लब छन् भने समूह ‘बी’ मा जनकपुर पिस फाउण्डेशन, खुकुरी क्रिकेट क्लब भैरहवा र मकवानपुर क्रिकेट संघ छन् । समूह विजेताले उपाधीका लागि भिडन्त गर्नेछन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा पहिलो पटक हुन लागेको प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको प्लेयर अफ दि सिरिजसहित उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने संयोजक सोमलाल बम्जनले जानकारी दिए ।

क्रिकेट क्षेत्रमा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजना गर्न लागिएको प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारीले गर्नेछन् । आयोजकका अनुसार बिहान ११ बजे प्रतियोगिताको उद्घाटन हुनेछ ।

अभियान नेपालको आयोजनामा हुन लागेको प्रतियोगितालाई सम्पन्न गर्न बारा क्रिकेट संघ, पथलैया क्रिकेट क्लब र सिमरा क्रिकेट क्लबले व्यवस्थापकिय सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्