एमालेप्रति जनताको मोह र विश्वास बढ्दो छ: महासचिव शंकर पोखरेल


eShilalekh

२८ पुष २०७८, बुधबार २२:१६

सिमरा: नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेप्रती जनताको मोह र विश्वास देशभर बढ्दो रहेको बताएका छन् । एमाले बाराको दशौं जिल्ला अधिवेशनको बुधवार कलैयामा उद्घाटन गर्दै महासचिव पोखरेलले सरकारमा रहेका बेला जनताको मन जित्न सकेकै कारण एमालेप्रति मोह देशभर देखिएको बताए ।

घेराबन्दीमा परेर सरकारबाट बाहिरिनु परेपनि जनताको मनबाट एमालेलाई निकाल्न कुनै शक्तिले नसक्ने भन्दै महासचिव पोखरेलले अबको निर्वाचनमा एमाले पुनः देशकै ठुलो शक्ति भएर सरकारको नेतृत्वमा पुग्ने बताए । ‘परमादेश जारी गरेर सरकारबाट हटाइयो, तर जनताको मनबाट हटाउन कसैले सक्दैन्’ पोखरेलले भने ‘अबको निर्वाचनले एमाले फेरी पनि सरकारमा पुग्नेछ र फेरी पनि जनताको मन जित्ने काम गर्दछ ।’

जनादेशको सरकारलाई परमादेशबाट हटाउन भएको गठबन्धनलाई जनताले नरुचाउने पोखरेलको भनाई थियो । एमालेको सरकार ढाल्न मुख्य भुमिका खेल्ने प्रचण्ड र माधवकुमार नेपाल रहेको भन्दै पोखरेलले कम्युनिष्ट सरकार ढालेर कांग्रेसलाई नेतृत्व सुम्पने काम जनताले नस्विकार्ने बताए । देशभर एमालेप्रतिको आकर्षण देखेर सत्तारुढ गठबन्धन चुनावबाट समेत भाग्न थालेको पोखरेलले बताए ।

एमाले पर्साको अधिवेशनमा सहभागी भएर बारा आएका पोखरेलले मधेसमा पनि एमाले ठुलो शक्तिको रुपमा उदाउने निश्चित रहेको बताएका छन् । एमालेलाई मधेस विरोधी भनेर प्रचार गर्दै आफ्नो राजनैतिक अस्तित्व जोगाउदै आएका मधेसवादी दलका नेताको हैसियत जनताले बुझिसकेका कारण पनि एमालेप्रतिको आकर्षण बढ्दो रहेको उनको भनाई थियो ।

कार्यक्रममा एमाले सचिव एवम् स्थायी कमिटी सदस्य रघुविर महासेठले सरकारमा मात्रै नभएर प्रतिपक्षमा बसेर पनि एमालेले जनताको मत जितिरहेको बताए । एमाले प्रदेश २ का ईन्चार्ज समेत रहेका महासेठले सरकार रहेपनि नरहेपनि एमाले अब जनताको मनमस्तिस्कमा रहने बताए । ‘सरकारमा हुदाँ एमालेले गरेको कामको नजिता हो, आज देशभर जनताले एमालेलाई रोजिरहेका छन्’ महासेठले भने ‘केही अवसरवादी बाहिरिएपनि एमाले झनै संगठित र एकताबद्ध भएको छ । अब एमालेलाई पराजित गर्न कुनै गठबन्धनले सक्ने छैन । एमालेलाई जनताको साथ छ ।’

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य प्रभु साहले जनताले अब एमालेको विकल्प नखोज्ने बताएका छन् । देश र जनताका लागि काम गर्ने पार्टी एमाले रहेको भन्दै साहले एमाले फेरी पनि ठुलो शक्ति बन्ने बताए । पार्टी भित्रका केही व्यक्तिका कारण सरकारबाट बाहिरिनुपरेको भन्दै साहले अवसरबादीको पहिचान गर्न ढिलो भएको बताए । उनले बाहिर भन्दा भित्रबाटै पार्टीलाई खतरा रहेको बताए ।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, ज्वाला साह, सुमनराज प्याकुरेल, एमाले प्रदेश २ अध्यक्ष रामअवतार यादव, उपसचिव आरती भण्डारीलगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य अच्युत मैनाली, केन्द्रीय सदस्य बलवीर चौधरी, सरस्वती चौधरी महमद समीर, प्रदेश बरिष्ठ उपाध्यक्ष रेवती पन्त, प्रदेश सचिव डा. कृष्ण पौडेललगायत प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, जिल्लाका नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जीतपुरसहित विभिन्न स्थानबाट विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकालाई एमाले सचिव महासेठले स्वागत गरेका थिए । एमाले बाराका अध्यक्ष देवनारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन केन्द्रीय सदस्य एव्म जिल्ला सचिव समीर र उपसचिव गोविन्द पौडेलले गरेका थिए ।

उद्घाटनपश्चात बन्दसत्र समेत सुरु भएको छ । बन्दसत्रमा सांगठानिकसहित अन्य प्रतिवेदनमा छलफल भइरहेको छ । बन्दसत्रले एमाले बाराको नयाँ नेतृत्व समेत चयन गर्नेछ । सर्वसम्मत नयाँ नेतृत्व चयनका लागि एमाले नेताले कसरत गरिरहेका छन् ।

एमालेको नेतृत्वका लागि वर्तमान अध्यक्ष देवनारायण चौधरीसहित, रविन्द्रराज श्रेष्ठ, उपाध्यक्ष विनोद साह, अध्यानन्द पाण्डेको चर्चा छ । कलैयास्थित जानकी सिनेमा हलमा चलिरहेको एमाले करिब आठ सय प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्