एमाले बाराको अधिवेशन भोलिदेखि सुरु हुँदै, अध्यक्ष ओलीले उद्घाटन गर्ने


eShilalekh

१८ चैत्र २०८०, आईतवार २१:४९

सिमराः नेकपा एमाले बाराको ११औं जिल्ला अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । कलैयास्थित करणराज पार्टी प्यालेसमा हुने अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बारा आउँदैछन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको प्रमुख आतिथ्यतामा हुने उद्घाटन समारोहको तयारी पूरा भएको एमाले बाराले जनाएको छ । करणराज पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले बाराले वृहत् जनसभाकाबीच अधिवेशनको उद्घाटन हुने जानकारी दिएको छ ।

अधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाउन वडा, नगरतहबाट उत्साहजनक सहभागिता गराउने गरी तयारी भईरहेको एमाले पोलिटव्युरो सदस्य एवम् बारा क्षेत्र नं. १ का सांसद अच्युत मैनालीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । एमालेको अधिवेशन बारा जिल्लाको विकाससंग समेत जोडिएको भन्दै मैनालीले उत्साहजनक उपस्थितीकाबीच उद्घाटन समारोह सम्पन्न हुने बताए ।

जिल्ला अध्यक्ष विनोद साहको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा कृषी तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साह, एमाले नेता सुवोध प्याकुरेल, केन्द्रीय सदस्य बलबीर चौधरी, प्रदेश अध्यक्ष चन्देश्वर मण्डललगायत उपस्थित थिए ।

करणराज पार्टी प्यालेसमा उद्घाटन हुने अधिवेशनको बन्दसत्र भने जानकी सिनेमा हलमा हुनेछ । अधिवेशनको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । बन्दसत्रमा सहभागी हुन करिब आठ सय प्रतिनिधि चयन भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्