‘उपाधि जितेर इतिहास रच्न चाहन्छौ’


eShilalekh

२ बैशाख २०८१, आईतवार १७:०१

सिमराः जगदम्बा जीतपुरसिमरा गोल्डकपको १४औं संस्करणको फाइनल खेल सोमबार साँझ सिमरा रंगशालामा हुँदैछ । प्रतियोगिताको उपाधिका लागि विभागिय टिम नेपाल पुलिस क्लब र मछिन्द्र फूटबल क्लब भिड्दैछन् ।

गोल्डकपको फाइनल खेल भव्य समारोहकाबीच सम्पन्न हुँदै गर्दा १४औं संस्करणले नयाँ इतिहास रच्ने निश्चित छ । यो वर्ष पनि आयोजकले उपाधि विजेताको रुपमा नयाँ टिम पाउनेछ भने उपाधि उचाल्ने टिमले पनि जीतपुरसिमरा गोल्डकपको टाइटल जित्नेको सूचिमा नाम लेखाउनेछन् ।

फाइनल खेल्न लागेका दुबै टिमले हालसम्म जीतपुरसिमरा गोल्डकपको उपाधि उचाल्न सकेका छैनन् । त्यसैले दुबै टिमले फाइनल भिडन्तलाई इतिहास रच्ने अवसरका रुपमा लिएका छन् ।

पुलिस आठ वर्षपछि दोस्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो भने मछिन्द्र पहिलो पटक उपाधि नजिक पुगेको हो । यसअघि रुस्लान छैठौं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिस त्रिभुवन आर्मी क्लबसंग २–० ले पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो ।

यता मछिन्द्र भने म्याजिक मोमेन्ट्स चौथो सिमरा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको थियो । मनाङ मर्स्याङ्दी क्लबसंग १–० ले पराजित भएर फर्किएको मछिन्द्र १० वर्षपछि प्रतियोगिता खेल्न सिमरा आएको हो ।

हालै विराट गोल्डकपको उपाधि समेत उचालेर सिमरा आएको मछिन्द्रले यो टाइटललाई महत्वका साथ हेरेको छ । यो वर्ष पाँच वटा टाइटल जित्ने लक्ष्य बोकेको मछिन्द्रले यो उपाधि जिते चौथो हुनेछ । यसअघि विराट गोल्डकप, केपी ओली कप र बागमती गोल्डकपको उपाधि मछिन्द्रले उचालिसकेको छ ।

यता युवा खेलाडीले भरिएको पुलिस भने यो सिजनकै ठुलो उपाधि उचाल्ने दाउमा छ । पुलिसले यो सिजनमा वीरगन्ज गोल्डकपको उपाधि मात्रै उचालेको छ । पुलिसका कप्तान रामचन्द्र वाजेले जीतपुरसिमराको टाइटल उचाल्न आफ्नो टिम आतुर रहेको बताए ।

पुलिसका प्रशिक्षक चेतन घिमिरे पनि कप्तान वाजेको कुरामा सहमती जनाउँछन् । १४ वर्षको इतिहास बोकेको जीतपुरसिमरा गोल्डकपको उपाधि विजेताको सूचिमा पुलिस क्लबलाई उभ्याउनका मछिन्द्रविरुद्धको खेल महत्वपूर्ण हुने घिमिरेले बताए । विभागिय डर्बीमा एपीएफलाई पराजित गर्दै फाइनल प्रवेश गरेका कारण टिमको मनोबल उच्च रहेको बताउँदै घिमिरेले उपाधि जित्नेमा आफू आशावादी रहेको बताए ।

पहिलो खेलमा आयोजक नवजनजागृति क्लब र दोस्रो खेलमा एपीएफ क्लबलाई पराजित गर्दै उपाधि होडमा उभिएको पुलिसले फाइनल खेलमा घरेलु दर्शकको समर्थन पाउने सम्भावना कम छ । एपीएफविरुद्धको विभागिय डर्बीमा पनि घरेलु दर्शक पुलिसको पक्षमा देखिएनन् । पुलिसका प्रशिक्षक घिमिरेले फाइनल जित्नका लागि दर्शकको समर्थन पनि महत्वपूर्ण हुने बताउछन् ।

पुलिसले फाइनल खेलमा शिशिर चौधरीलाई गुमाउनेछ । दोहोरो पहेलो कार्डका कारण शिशिरले फाइनल खेल्न पाउने छैनन् । शिशिरले एपीएफविरुद्धको सेमिफाइनल खेलमा गोल लाइनबाट बल क्लियर गर्दै टिमलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

यता स्टार खेलाडी बिमल घर्तिमगर, मनिष डांगी सम्मिलित मछिन्द्रको टिममा भने कुनै परिवर्तन हुने छैन । मछिन्द्र प्रतियोगिताको उपाधि उचाल्ने दावेदार टिम हो । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै प्रतियोगितामा सानदार सुरुवात गरेको मछिन्द्रले सिरहाको सलहेश युवा क्लबलाई पन्छाउँदै फाइनल प्रवेश गरेको थियो । मछिन्द्र फाइनल जित्नेमा विश्वस्त देखिन्छ ।

मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले पुलिसलाई पराजित गरेर टाइटल जित्नेमा आफू निकै आशावादी रहेको बताए । ‘यो सिजनमा पाँच वटा टाइटल जित्ने गरी तीन महिनादेखि तयारीमा छौं’ न्यौपानेले भने ‘तीन वटा जितिसक्यौ । यो चौथो हो, जसरी पनि जित्नेछौं ।’ पुलिस बलियो प्रतिस्पर्धि भएपनि आफ्नो टिमको लय र खेलाडीको प्रदर्शनका कारण उपाधि उचाल्नेमा आफू विश्वस्त रहेको न्यौपानेले बताए ।

मछिन्द्रका कप्तान तथा गोलरक्षक बिशाल श्रेष्ठले पनि यो पटकको उपाधि आफ्नो टिमले उचाल्ने दावी गर्छन् । ‘यो सुन्दर अवसर हो । हामी सुन्दर फूटबल खेलेर उपाधि जित्छौ’ बिशालले भने ‘यो ट्रफि हाम्रा लागि महत्वपूर्ण पनि छ । हामी जित्न चाहन्छौं ।’

दुवै टिमका प्रशिक्षक र कप्तानले फाइनल भिडन्त खेलप्रेमी दर्शकका लागि समेत रोमाञ्चक हुने बताउँछन् । गोल्डकपको फाइनल खेलमा १० हजार भन्दा बढी दर्शक आउने आकलन गरिएको छ । यसअघिका संस्करणको फाइनल खेलमा सोही संख्यामा दर्शकको उपस्थिति रहदै आएको थियो ।

दर्शकको बाक्लो उपस्थितिकाबीच हुने फाइनल खेलको तयारीमा आयोजक जुटेको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले समापन समारोहलाई भव्य बनाउने तयारी भईरहेको बताए ।

जीतपुरसिमरा गोल्डकपको हाल सम्मका उपाधि विजेता:
२०७९ – चर्च ब्वाइज युनाइटेड
२०७८ – न्युरोड टिम (एनआरटी)
२०७७ – संकटा क्लब
२०७५ – थ्रिस्टार क्लब
२०७४ – त्रिभुवन आर्मी क्लब
२०७३ – संकटा क्लब
२०७२ – विजय युथ क्लब, हेटौंडा
२०७१ – त्रिभुवन आर्मी क्लब
२०७० – आयोजक नव जनजागृति युवा क्लब
२०६९ – मनाङ मर्स्याङ्दी क्लब
२०६८ – मनाङ मर्स्याङ्दी क्लब
२०६७ – हिमालयन शेर्पा क्लब
२०६६ – मजदुर सहिद स्मृति क्लब

प्रतिक्रिया दिनुहोस्