सुरक्षित गर्भपतनले घटाउँदै जोखिम


निलिसा वर्मा

१७ बैशाख २०८१, सोमबार १३:४२

सिमराः भागी विवाह गरेर आएको दुई महिना पुग्दै थियो । महिनावरी समयमा नभएपछि सिमा (नाम परिवर्तन) चिन्तित थिईन् । गर्भावस्था जाँच गर्ने किट घरमै ल्याएर जाँच गर्दा आफू गर्भवती रहेको थाहा पाईन् । गर्भवती रहेको थाहा पाउँदा उनि खुशी हुनुको साटो निराश हुन थालिन् । कारण थियो उनको मनमा उत्पन्न भएको घरपरिवार र समाजले गलत लान्छना लगाउने हो की भन्ने त्रास ।

सोही त्रासका कारण उनले आफू गर्भवती भएको कुरा गर्भमै राख्ने सोचिन् । ‘एक त परिवारलाई जानकारी नदिई भागेर विवाह गरे, त्यही माथि यति चाडै गर्भवती भएको कुरा घरमा थाहा पाए भने गर्भ बसेकै कारण भागेको आशंका गर्ने हो की भन्ने डरले मलाई सतायो’ सिमाले भनिन् ‘त्यही डरले छट्पटिनु भन्दा मैले गर्भपतन गराउने निर्णय गरे’ ।

श्रीमान् बाहेक परिवारका अन्य सदस्यलाई जानकारी नदिई उनले गर्भपतन हुने औषधी किनेर ल्याईन् । राती सुत्ने बेला औषधी खाइन् । औषधी खाँदै गर्दा उनलाई निकै पछुतो महसुस पनि भईरहेको थियो । ‘त्यो दिन मलाई निकै पछुतो लागिरहेको थियो’ विगत सम्झिदै उनी भन्छिन् ‘एक त १८ बर्षको उमेर, त्यसमाथी गर्भवती । औषधी खाएपछिको पीडा थाम्न सकेको थिइन’ ।

औषधीले आफ्नो असर देखाउन थालेको थियो । उनि पीडा थाम्न सकिनन् र बेहोस भईन् । सासुससुरालाई यस पीडा बारे केही जानकारी थिएन् । रक्तचाप कम भएर बेहोस भएको आशंका गरेर सिमालाई सबैले अस्पताल लगे ।

श्रीमान् पनि सिमालाई यस्तो अवस्थामा देखेर निकै चिन्तित थिए । कारण श्रीमान्लाई थाहा थियो । औषधी किन्दै गर्दा रक्तश्राव हुने बारे उनलाई पूर्व जानकारी गराइएको थियो । सिमालाई निकै कमजोरी महसुस हुदै थियो । पेट दुख्ने, रिंगटा लाग्ने र लामो समयसम्म रक्तश्रावको कारणले उनी बेहोस भएकी थिइन् ।

अस्पताल पुग्दा समेत परिवारका अन्य सदस्यले चिकित्सकलाई बेहोस भएको मात्र जानकारी गराए किनभने उनिहरु अझै पनि बुहारीको वास्तविक अवस्था बारे अनभिज्ञ थिए । चेकजाँचको क्रममा सिमाका श्रीमान्ले भने चिकित्सकलाई वास्तविकता बारे जानकारी गराए । स्वास्थ्य परिक्षण पश्चात् उनलाई तुरुन्त रगत दिनुपर्ने र गर्भ पनि राम्रोसंग सफा नभएकाले पाठेघर सफा गर्नुपर्ने सल्लाह दिए । चिकित्सकका अनुसार समयमै अस्पताल नलगिएको भए सिमाको ज्यान समेत जोखिममा पर्न सक्थ्यो ।

‘असुरक्षित गर्भपतन गर्नुभन्दा त बच्चा जन्माउनुपर्ने रहेछ’ पूर्ण जानकारी र चिकित्सकको सल्लाह बिना लिएको निर्णय गलत भएको स्विकार्दै सिमाले भनिन् ‘घरमा गाली पनि खानुपर्यो र शरिरले पनि धेरै गाह्रो सहनुपर्यो । चिकित्सककै सल्लाह अनुसार गर्भनिरोधक साधन प्रयोग गरि गर्भवती हुनबाट जोगिनु राम्रो । र पनि इच्छा विपरित गर्भ बस्यो भने चिकित्सकसंग सल्लाह लिएर र कानुनी दायरामा रहेर निर्णय लिनुपर्छ’ ।

पहिलो गर्भपतन गरेको एक वर्ष पश्चात उनले छोरालाई जन्म दिईन् । छोरा सानै हुँदा फेरी सिमाको गर्भ बस्यो जुन चाहना अनुसार थिएन । तर यसपटक उनि गर्भपतनका लागी कानुनी मान्यता प्राप्त भएको संस्थामा गई चिकित्सकको सल्लाह र रेखदेखमा गर्भपतन गराईन् ।

यसैगरी १९ वर्षिय एक किशोरीको आफ्नै सहपाठीसंग प्रेम सम्बन्ध बस्यो । त्यसक्रममा उनी गर्भवती भईन् । विवाह अघिको शारीरिक सम्बन्धले समाजमा र घरपरिवारमा बदनामी हुने डरले उनले लुकाउने प्रयास गरिन् । औषधी समेतको जानकारी नभएकाले उनले औषधी सेवन समेत गरिनन् र आफ्नो प्रेमीसंग सम्पर्क गर्न निरन्तर प्रयास गरिन् ।

प्रेमीसंग कुनै सम्पर्क नभएपछि उनि आफ्नो दिदीलाई आफू गर्भवती भएको कुरा बताईन् । तर विडम्बना भु्रण १० हप्ता भन्दा बढिको भईसकेको थियो । ‘दिदीले थाहा पाउने वित्तिकै मलाई अस्पताल लिएर जानु भयो’ उनले भनिन् ‘अल्ट्रासाउण्ड गर्दा भ्रुण १० हप्ता भन्दा बढि भईसकेको र औजारको प्रयोगले गर्भपतन गर्नुपर्ने चिकित्सकले सल्लाह दिए ।’

औजार प्रयोगको कुरा सुनेर दुवै जना आत्तिन थाले । सकेसम्म औषधीले नै गर्भपतन गराउने उनिहरुले सोचेका थिए । तर १० हप्ता भन्दा बढिको भ्रुण भएका कारण औषधीबाट गर्भपतन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने हुँदा चिकित्सकले औजार प्रयोग नै अन्तिम विकल्पको रुपमा रहेको उनिहरुलाई सुनाए ।

तर दिदीबहिनीले औषधीकै प्रयोग गर्ने निर्णय गरे । घरमा कसैलाई जानकारी नगराई युवतीले औषधी सेवन गरिन् । औषधी सेवन पश्चात रक्तस्राव सुरु भयो । ‘मैले औषधी सेवन गरेको केहि घण्टा पश्चात रक्तस्राव सुरु भएको जानकारी दिदीलाई गराए । पेट दुखेको थियो । कमजोरी महसुस हुनुका साथै आत्मग्लानी पनि महसुस गर्दै थिए’ उनले भनिन् ‘दिदी र मैले घर परिवारसंग मेरो अवस्थाबारे लुकाएर ठुलै गल्ती गरेका थियौ । तर डरले भन्ने आँट आएन र अब त गर्भपतन पनि भयो भनेर ढुक्क भए ।’

गर्भपतन भयो भनेर ढुक्क भएर बसेकी उनि एक दिन अचानक बेहोस भईन् । आमा बुवाले तुरुन्त अस्पताल लिएर पुगे । चिकित्सकले उनको गर्भमा पाँच महिनाको भ्रुण रहेको जानकारी परिवारलाई गराए । यो सुनेर परिवारका सबै सदस्य स्तब्ध भए । अनि तुरुन्तै गर्भपतन गराउने निर्णय लिई चिकित्सकसंग सल्लाह गरे ।

‘सायद मैले औषधीको प्रयोग सहि तरिकाले गरेको थिईन् र रक्तस्राव हुँदा पनि मैले गर्भपतन भएको ठम्याउन सकिन होला । त्यसकारण मेरो गर्भमा रहेको भ्रुण जिवितै थियो’ उनले भनिन् ‘१० हप्ताको भ्रुण हुँदा नै चिकित्सकको सल्लाह मानेको भए आज यस्तो अवस्था आउने थिएन होला । मेसिन प्रयोग गरि भ्रुणलाई गर्भबाट बाहिर निकालियो । मैले गरेको गल्तीको सजाय मेरा परिवारले पनि पाए ।’

महिला तथा युवतीहरुले असुरक्षित गर्भपतनको बाटो रोज्नुपर्ने यस्ता थुप्रै कारणहरु हाम्रो समाजमा छन् । एक महिलाले छोराको आशमा ७ वटा छोरीलाई जन्म दिईन् । लिङ्ग पहिचान गराउन कयौं पटक भारत पुगीन र पुनः गर्भमा छोरी रहेको थाहा पाएर स्वेच्छिक गर्भपतन गराईन् । केहि समय पश्चात छोरालाई जन्म दिईन् ।

सुरक्षित गर्भपतनबारे अझ पनि समाजमा चेतनाको कमी रहेको स्त्रीरोग विशेषज्ञ डा.सुरेन्द्र रावले बताए । गर्भपतन गराउने कानुनी प्रावधान हुदैमा यसलाई सजिलो बाटोको रुपमा लिन नहुने उनको भनाई छ । नेपालको कानुनले १२ हप्ता सम्मको गर्भ रहेमा सुरक्षित गर्भपतन गर्ने सुबिधा दिएको छ । तर आफ्नो ज्यानलाई जोखिममा राखेर १५ हप्ता भन्दा माथिको गर्भ पनि औषधी सेवन गरी गर्भपतन गराउने गरेको घटना आइरहेका हुन्छन् ।

असुरक्षित गर्भपतनले पूर्णरुपले गर्भपतन नहुनु, बढि रक्तश्राव हुनु, पाठेघरमा संक्रमण, बाँझोपन जस्ता बिभिन्न समस्या निम्तिन सक्ने बारे चेतनाको कमीले गर्दा पनि असुरक्षित गर्भपतनको घटना बढ्दै गएको डा. रावको भनाई छ ।

निजी क्लिनिकमा पनि विभिन्न कारण देखाई असुरक्षित गर्भपतनका लागी महिलाहरु आउने गरेको कार्यरत एक स्वास्थ्यकर्मीले बताईन् । ‘अनैतिक सम्बन्धले बसेको गर्भ, एउटा बच्चा सानो हुँदा अर्को गर्भ चाडै बस्नु र आर्थिक समस्या जस्ता कारण देखाएर गर्भपतन गराउन खोज्छन् । गोपनियताका कारण आफ्नै गाँउठाँउमा भएको क्लिनिक र स्वास्थ्यकर्मीसंग कुरा गरी गर्भपतन गराउन खोजेको पाईन्छ’ उनले भनिन् । तर हामीले नेपाल सरकारमा सूचीकृत भएका संस्था र सूचीकृत संस्थामा तालिम प्राप्त चिकित्सकबाट गरिएको गर्भपतन नै सुरक्षित रहेको र गोपनियता अपनाईने परामर्श दिई पठाउने गरेको ति स्वास्थ्यकर्मीले बताईन् ।

गर्भनिरोधक साधन प्रयोग गरी ईच्छा विपरीत गर्भ बस्नबाट रोक्न सकिन्छ । अनिच्छित गर्भ राखे पनि वा असुरक्षित गर्भपतन गराए पनि कष्ट महिलालाई नै हुने हो । त्यसैले सकेसम्म गर्भलाई सधै इच्छित बनाउने तिर जोड दिनुपर्छ । आफ्नो ज्यानलाई जोखिममा पर्न नदिन आफैं सचेत भई असुरक्षित गर्भपतन रोक्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्