महोत्तरीमा बस दुर्घटना, ३० जना घाइते


eShilalekh

२७ माघ २०८१, आईतवार १६:५९

महोत्तरीः महोत्तरीमा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा हुँदा ३० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत टुटेश्वर जंगलमा बस दुर्घटनामा परेको महोत्तरी प्रहरीले जनाएको छ ।

जनकपुरबाट बरथहवाका लागि छुटेको ना ५ ख २८५१ नम्बरको बस दुर्घटनामा परेको महोत्तरी प्रहरीका निमित्त प्रवक्ता नन्दकिशोर चौहानले बताए ।

उनका अनुसार महोत्तरीको पूर्वपश्चिम राजमार्गको महोत्तरीको माइस्थानबाट तीन किलोमिटर पश्चिमतिरको जंगलमा बस अनियन्त्रित भई दुर्घटना भएको हो । बस दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था मध्यम तथा अन्यको अवस्था सामान्य रहेको चौहानले बताए ।

घाइतेहरूलाई उपचारका लागि बर्दिबास लगिएको छ । प्रहरीका अनुसार बसमा कुल ४० जना सवार थिए । प्रहरीले बस चालकलाई पक्राउ गरी घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्