बारा प्रहरीद्वारा दुई करोड भन्दा बढीको अवैध सामानसहित ट्रक नियन्त्रणमा

सिमराः बारा प्रहरीले दुई करोड भन्दा बढीको अवैध सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी पथलैयाबाट प्रहरी नायब निरीक्षक बब्बी बम्जनको नेतृत्वमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित पथलैया चोकबाट उक्त ट्रक नियन्त्रणमा लिएको हो ।
वीरगन्जबाट कास्कीतर्फ जाँदै गरेको ना ५ ख ९१४९ नम्बरको ट्रकलाई रोकेर जाँच गर्ने क्रममा ट्रकमा लोड गरिएका सामग्रीको बिल शंकास्पद देखिएपछि सामानसहित ट्रक नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रकमा नोकिया र वल्र्डलिंक कम्पनीका १७,२७० थान राउटर लोड गरिएको थियो । उक्त सामानको मूल्य रु. दुई करोड ७० लाख ५६ हजार तीन सय आठ रहेको छ ।
पक्राउ परेका सामान र ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।