गणतन्त्र दिवस: मन्त्री लेखीको उपस्थितिमा जानकी मन्दिरको सरसफाई


eShilalekh

१६ जेष्ठ २०८२, शुक्रबार ०९:०२

जनकपुरधाम: मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले शुक्रबार जानकी मन्दिर परिसरमा विशेष सरसफाइ कार्यक्रम आयोजना गरेको छ । विभिन्न रचनात्मक कार्यक्रम गर्दै गणतन्त्र दिवस मनाउने क्रममा मन्त्रालयले मन्दिर सरसफाई गरेको हो ।

गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीसहितको सहभागितामा आयोजित कार्यक्रममा मन्त्रालयका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

मन्त्री लेखीले गणतन्त्रको संस्थागत रूपले विकास गर्न राज्य, सरकार, नागरिक समाज, सञ्चार क्षेत्र, युवा, महिला तथा सम्पूर्ण नागरिकको सक्रिय भूमिका अपरिहार्य रहेको बताए । `गणतन्त्र केवल शासन प्रणाली परिवर्तनको नाम मात्र होइन, यो जनताको अधिकार, सहभागिता र न्यायको प्रत्याभूति गर्ने प्रणाली हो´ मन्त्री लेखीले भने `यसलाई सबल र स्थायी बनाउने जिम्मेवारी सबैको उत्तिकै छ´।

दिवस मनाउने क्रममा बिहीबार पत्रकारितामा योगदान पुर्‍याउने मधेश प्रदेशका अग्रज पत्रकार, प्रेस स्वतन्त्रता सेनानीलाई अभिनन्दन गर्दै शुभकामना आदानप्रदान गरिएको थियो । यसअघि बुधबार मन्त्रालय परिसर क्षेत्रमा सरसफाई गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्