सिमरा सेजमा १३२ केभी सबस्टेशन निर्माण गर्न सेज र विद्युत प्राधिकरणबीच सम्झौता

सिमरा: सिमरास्थित विशेष आर्थिक क्षेत्रमा १३२ केभी क्षमताको सबस्टेशन निर्माणका लागि विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) र नेपाल विद्युत प्राधिकरणबीच औपचारिक रूपमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा विशेष आर्थिक क्षेत्रका कार्यकारी निर्देशक छत्र कटुवाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हस्ताक्षर गरेका हुन् ।
दरबारमार्गस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा भएको उक्त समझदारीबारे जानकारी दिँदै नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले सेजमा स्थापना हुने उद्योगधन्दालाई लक्षित गरी विद्युत सेवा विस्तार गर्ने उद्देश्यले सम्झौता गरिएको बताए । प्रवक्ता ढकालका अनुसार उद्योग मन्त्रालयबाट बहुवर्षीय परियोजना स्वीकृत भइसकेपछि टेन्डर प्रक्रिया अगाडि बढाइने र त्यसपछि सबस्टेशन निर्माणको बाँकी प्रक्रिया अघि बढाइनेछ।
सबस्टेशनमार्फत सेजमा स्थापना हुने उद्योगलाई आवश्यक विद्युत आपूर्ति सुनिश्चित गरिनेछ। ढकालले उक्त क्षेत्रमा स्थापना हुने उद्योगहरूको प्रकृति र विद्युत मागअनुसार पावर सप्लाईको मात्रा तय गरिने जानकारी पनि दिए।
यस परियोजनाबाट सिमरा विशेष आर्थिक क्षेत्रको पूर्वाधार सुदृढ भई लगानीमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ।