बारामा सामूहिक कुटपिटबाट एक जनाको मृत्यु, चार जना पक्राउ


eShilalekh

४ असार २०८२, बुधबार १८:३०

सिमराः बाराको कलैया उपमहानगरपालिका १४ बघवनमा पुरानो रिसिवीका कारण भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बघवनका ५० वर्षीय नन्दु राउत कुर्मी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गत जेठ २९ गते साँझ करिब ६ः१५ बजे कुर्मीलाई सोही स्थानका ४० वर्षीय उमेश जैसवालसहित ६ जना व्यक्तिहरूले सामूहिक आक्रमण गरेका थिए ।

गम्भीर घाइते भएका कुर्मीलाई उपचारकालागि तत्काल प्रादेशिक अस्पताल कलैया पुर्याईएको थियो । तर चिकित्सकले साँझ ७ः२० बजे उनलाई मृत घोषणा गरेका थिए ।

घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धान पश्चात् घटनामा संलग्न रहेको आरोपमा सोही दिन २८ वर्षीय दिगम्बर साह कलवारलाई प्रहरीले पक्राउ गरिएको थियो । उनलाई ज्यान सम्बन्धी कसूर मुद्दामा बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

फरार रहेका अन्य अभियुक्तहरूको खोजीका लागि प्रहरी निरीक्षक खेमप्रसाद नेपालको कमान्डमा खटिएको विशेष प्रहरी टोलीले बुधबार (आज) थप तिन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उमेश जैसवालकी श्रीमती ३८ वर्षीय रन्जु जयसवाल, २० वर्षीय छोरा सुमित जैसवाल र १८ वर्षीय छोरा सुजित कुमार जैसवाल रहेका छन् । लुकिछिपि बसेको अवस्थामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले रन्जु जैसवाललाई कलैया उपमहानगरपालिका ५ मा सागर लामिछानेको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो भने उनका छोरा सुमित र सुजितलाई पर्साको वीरगन्ज महानगरपालिका १ शान्ति टोलमा बसिर मियाँको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका तिनै जनालाई बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जनाएका छन् ।

यस घटनामा संलग्न अन्य फरार आरोपितहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्