अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री वितरण शिविर हुने

सिमराः निजगढ नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री वितरण शिविर संचालन गर्ने भएको छ ।
प्रेरणा (शारीरिक पुनस्र्थापना केन्द्र) लालबन्दी, सर्लाही संगको सहकार्यमा नगरपालिकाले असार ७ गते शनिबार शिविर संचालन गर्न लागेको हो ।
निजगढ नगरपालिकाको सभाहलमा बिहान १०ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म शिविर संचालन हुनेछ । चालु आर्थिक वर्ष २०८१।०८२ मा स्वीकृत वार्षिक कार्ययोजनाअन्तर्गत शिविर आयोजना गरिएको छ ।
नगरपालिकाका अनुसार १८ वर्षभन्दा माथिका अपाङ्गता भएका व्यक्तिहरूको शारीरिक परीक्षण तथा सहायक सामग्री नापजाँचका लागि शिविर आयोजना गरिनेछ । शिविरमा सहभागी भई सेवा लिन इच्छुक अपाङ्गता भएका व्यक्तिहरूलाई अनिवार्य रूपमा उपस्थित हुन नगरपालिकाले अनुरोध गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्यालका अनुसार शिविरले अपाङ्गता भएका व्यक्तिहरूको जीवनशैलीमा सुधार ल्याउने र आत्मनिर्भर बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।