‘कमरेड मदन, एमाले र मानव अधिकार: कलैयाको ऐतिहासिक सम्झना’


eShilalekh

६ श्रावण २०८२, मंगलवार १२:५२

२०४९ साल मंसिर २५ गतेको दिन थियो। विश्व मानव अधिकार दिवसको अवसरमा बारा जिल्लाको सदरमुकाम कलैयामा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमको केन्द्र थियो देवकीलाल धर्मशाला, जुन त्यस दिन झलमल उज्यालोमा रंगिएको थियो। यही धर्मशालामा भएको मानव अधिकार दिवस विशेष कार्यक्रमको प्रमुख आकर्षण बनेका थिए तत्कालीन नेकपा एमालेका लोकप्रिय नेता कमरेड मदन भण्डारी।

जनतामाझ मानव अधिकारको सन्देश

एमालेको पाँचौं महाधिवेशन पछि पार्टीको नीति, कार्यक्रम र मार्गदर्शनको विषयमा जनतामाझ चासो निकै बढेको थियो। जनताको बहुदलीय जनवाद (जबज) को अवधारणाबारे जान्नका लागि सबै उत्सुक थिए। यस्तै बेला कलैयामा भएको मानव अधिकार दिवसको कार्यक्रममा कमरेड मदनको उपस्थितिले सामान्य नागरिकदेखि बुद्धिजीवीसम्ममा जागरण ल्यायो।

कार्यक्रमको अर्को विशेषता थिए मानव अधिकारका प्रखर वक्ता पद्मरत्न तुलाधर। उनले वाक तथा प्रेस स्वतन्त्रता, खानपानको अधिकार, र विभिन्न मुलुकहरूमा मानव अधिकारको भिन्न परिभाषा बारे स्पष्ट दृष्टिकोण राखे। उनले उल्लेख गरेका केही कुराहरूमाथि त्यसबेला केही विवाद र मिडियागत तोडमोड पनि भयो, तर वास्तविक सन्दर्भमा हेर्दा त्यहाँ गम्भीर मानवीय सन्देश थियो।

मदन भण्डारीको सादगीपूर्ण तर सशक्त उपस्थिति

त्यो कार्यक्रम कलैयाको पार्टी निर्माणको प्रारम्भिक चरणमा आयोजित गरिएको थियो। स्थान अभावका कारण कलैयाका पुराना कार्यकर्ता विश्वनाथ थापाको झुपडीमै खाजाको व्यवस्थासहित कार्य योजना तयार गरिएको थियो। यही झुपडीबाट कार्यक्रमस्थल पुगेका जननेता मदन भण्डारीले कलैया नगर अधिवेशनको उद्घाटन गरे।

कार्यक्रममा उनले बहुदलीय जनवाद, प्रतिस्पर्धाबाट नेतृत्व निर्माण, अन्तरपार्टी लोकतन्त्र, नागरिक अधिकार, पार्टीभित्रको विधिसम्मत कार्यपद्धति लगायतका विषयमा गम्भीर र स्पष्ट विचार प्रस्तुत गरे। उनले भनेका थिए:

“एमाले स्वयं मानव अधिकार रक्षक हो।
पार्टीका सबै कार्यकर्ताहरू मानव अधिकारका पहरेदार हुन्।
एमाले उत्पीडित जनताको आवाज हो।”

जननेताको सरल शैली, गहिरो विचार

कमरेड मदन भण्डारीको भाषण केवल राजनीतिक सन्देश मात्र थिएन, त्यो एक शिक्षात्मक दस्तावेज जस्तै थियो। उनले पार्टीमा सिद्धान्त अनुसार नीति, नीति अनुसार विधि, विधि अनुसार संगठनात्मक आचरण अपनाउने कुरा स्पष्ट पारे। यो भनाइ आज पनि संगठन, नीति निर्माण र नेतृत्व अभ्यासको सन्दर्भमा अत्यन्त सान्दर्भिक देखिन्छ।

उनले स्पष्ट पारेका थिए ।

  • प्रजातान्त्रिक बहुदलीय प्रणालीलाई एमालेले स्वीकार गरिसकेको छ।
  • सवै किसिमका विचारहरूलाई सम्मान गर्दै सयौं फूलहरू फुल्ने वातावरण बनाउने पक्षमा एमाले छ।
  • पार्टीभित्र योग्यता र क्षमताका आधारमा नेतृत्व चयन हुनु पर्छ।

स्मरणीय ऐतिहासिक घडी

कार्यक्रमको अन्त्यमा कलैया चोकको चौर मान्छेले खचाखच भरिएको थियो। जब मदन भण्डारी आए, सिङ्गो चौर उठेर स्वागतमा उभिएको दृश्य अझै पनि ती साक्षीहरूसँग ताजा भएर बाँकी छ। कार्यक्रमको संचालन, भाषण, आतिथ्यता, र कार्यकर्ताको अनुशासनले कलैयाको त्यो दिनलाई ऐतिहासिक बनाएको थियो।

कलैयामा आयोजित मानव अधिकार दिवस राजनीतिक इतिहासमा केवल एउटा कार्यक्रम मात्र थिएन, त्यो एउटा दृष्टिकोण निर्माण गर्ने युगान्तकारी क्षण थियो। जहाँ कम्युनिस्ट विचारधारालाई मानव अधिकारसँग जोडेर प्रस्तुत गर्ने प्रयास गरिएको थियो। जहाँ सैद्धान्तिक प्रतिबद्धता व्यवहारमा रूपान्तरण गर्न सकिन्छ भन्ने विश्वास स्थापित गरिएको थियो।

कमरेड मदन भण्डारीको विचार, शैली र दर्शन अहिले पनि नेपाली राजनीति, लोकतन्त्र र मानव अधिकारका सन्दर्भमा प्रेरणाका अमूल्य स्रोत बनेका छन्। त्यो दिन कलैयामा उनले दिएको सन्देश आज पनि झन् गहिरो, झन् जरुरी देखिन्छ।

नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेलले सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको सामाग्रीको सम्पादित अंश ।

प्रतिक्रिया दिनुहोस्