पर्साको ठोरीमा खाल्डोमा डुबेर दुई दाजुभाइको मृत्यु

वीरगन्जः पर्साको ठोरी गाउँपालिका २ हनुमाननगरमा पानी जमेको खाल्डोमा डुबेर एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा मनोजय कठायतका छोरा ८ वर्षीय अंश कठायत र ४ वर्षीय आयंश कठायत रहेका छन्।
दुवै दाजुभाइ मंगलबार बिहान विद्यालय जानुअघि घर नजिकै रहेको खोलामा नुहाउन गएका थिए। घरबाट नजिकै खोलामा डोजरले खनेको खाल्डोमा जमेको पानीमा पसेका उनीहरू त्यसपछि डुबेर बेपत्ता भएका थिए।
स्थानीयले पानीमा तैरिरहेको अवस्थामा दुवैलाई देखेर उद्धार गरी ठोरीस्थित अस्पतालमा पुर्याएपनि स्वास्थ्यकर्मीले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
दुवैको शव शल्यपरीक्षणका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा ल्याउने तयारी भइरहेको प्रवक्ता लम्सालले जानकारी दिएका छन् ।