निधन भइसकेका वर्णवालसहित ६ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ

कलैयाः कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत स्वर्गीय प्रहलाद प्रसाद वर्णवालसहित ६ जनालाई सेनिटरी प्याड खरिद प्रकरणमा दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएको छ।
न्यायाधीश तेज नारायण सिंह राई, राम बहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले मंगलबार सुनाएको फैसलामा प्रतिवादीहरूविरुद्ध पर्याप्त प्रमाण नपुगेको ठहर गर्दै सफाइ दिएको हो। सफाइ पाउने अन्यमा शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर, लेखा अधिकृत दिव्या सर्राफ, सागर देवी फर्मा र उक्त फर्माका प्रोप्राइटर विमलेश साह रहेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा सेनिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद नियमावली उल्लङ्घन गरी अस्वाभाविक मूल्य निर्धारण र एकै परिवारका फरक फर्ममार्फत बोलपत्र पेश गराई मिलेमतोमा ठेक्का दिएको आरोपमा २०८१ चैत २६ गते उनीहरूमाथि आरोपपत्र दायर गरेको थियो।
अख्तियारका अनुसार पहिलो वर्षमा प्रति प्याकेट ७८ रुपैयाँमा खरिद भएको प्याड दोस्रो वर्षमा २४ रुपैयाँमा खरिद भएको देखिएको र ९६ हजार २८० प्याकेटमा ५१ लाख ९९ हजार १२० रुपैयाँ बढी भुक्तानी गरिएको दाबी गरिएको थियो। तर अदालतले प्रस्तुत प्रमाणले आरोप पुष्टि गर्न नसक्ने ठहर गर्दै सबैलाई सफाइ दिएको हो।
विशेष अदालतले सफाई दिँदै गर्दा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वर्णवाल भने जिवित छैनन् । उनको असार ४ गते हृदयघातबाट निधन भएको हो । अदालतमा मुद्धा दायर भएपछि उनी विक्षिप्त बनेका थिए ।






