पर्सामा सरकारी अनुदानको एक सय ९१ बोरा मल बरामद


eShilalekh

२९ श्रावण २०८२, बिहीबार १३:११

पर्सा: पर्साको सखुवा प्रसौनी गाउँपालिका २ कटेया गाउँका दुई घरमा प्रहरीले ठूलो परिमाणमा सरकारी अनुदानको रासायनिक मल बरामद गरेको छ। साह महमद अन्सारी र युनुस अन्सारीको घरबाट कुल एक सय ९१ बोरा मल बरामद गरेको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत किसानलाई वितरण गर्न पठाइएको मल महँगो मूल्यमा बिक्रीका लागि अवैध रूपमा भण्डारण गरिएको सूचनाका आधारमा कारबाही गरिएको हो। अनुगमन टोलीमा साल्ट ट्रेडिङ, कृषि सामग्री कम्पनी, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि सहभागी थिए ।

साह महमद अन्सारीको घरबाट डिएपी ९ बोरा, पोटास १८ बोरा र फस्फोट एक सय १४ बोरा बरामद गरिएको प्रजिअ अर्यालले बताए। त्यसैगरी युनुस अन्सारीको घरबाट डिएपी २७ बोरा र पोटास २३ बोरा फेला परेको छ। बरामद सबै मल जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ।

प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार दुवै घरका मालिक फरार छन् र उनीहरूको खोजी भइरहेको छ। हाल पर्सामा धानबालीका लागि मलको चरम अभाव रहेको र किसानहरू समस्यामा परेको बेला सरकारी अनुदानको मल कालोबजारी हुने क्रम बढेको छ।

मल वितरणमा अनियमितता रोक्नका लागि प्रजिअ अर्यालले केही दिनअघि जिल्लाका मल वितरक कृषि सहकारी संस्थाका सञ्चालक, स्थानीय तहका उपप्रमुख र कृषि शाखा प्रमुखलाई निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार बुधबारदेखि सुरु भएको अनुगमनकै क्रममा एक सय ९१ बोरा मल बरामद भएको हो।

प्रतिक्रिया दिनुहोस्