पशुपति आर्यघाटमा जलिरहेको शवको अंग खरिद गरेको आरोपमा मधेस प्रदेशका दुई जना पक्राउ

सिमराः पशुपति आर्यघाटमा जलिरहेको शवको अंग र खरानी खरिद गरेको आरोपमा मधेस प्रदेशका दुई जना काठमाडौंमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी घर भई कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीको बलानबिहुल घर भई गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव छन्।
काठमाडौं प्रहरी प्रवक्ता एसपी कुलदीप चन्दका अनुसार उनीहरूले बनेपा ९ का राम शाहीको जलिरहेको शवबाट कान्छी औँलाको टुक्रा र खरानी खरिद गरेका थिए। घाटे ब्राह्मणले मृतकको खुट्टाको मासु बेचेको भन्दै मलामीले उजुरी गरेपछि काभ्रेको मण्डन देउपुर घर भएका ६१ वर्षीय घाटे ब्राह्मण गणेश ढकाल र उनका सहयोगी, उदयपुरको कटारी घर भएका २४ वर्षीय विनायक मैनालीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरी अनुसन्धानमा ढकाल र मैनालीले रामनन्दन ठाकुर र मिश्रीलाल यादवलाई ४ सय रुपैयाँ लिएर कान्छी औँलाको टुप्पो र खरानी दिएको स्वीकार गरेका छन्। अंग खरिद गर्ने व्यक्तिले ‘भगवानको पूजा गर्नुपर्ने’ भन्दै माग गरेको पनि प्रारम्भिक बयानमा उल्लेख छ। तर, कुन भगवानको पूजा गर्न मृत शरीरको अंग र खरानी चाहिन्छ भन्नेबारे उनीहरूले जानकारी नभएको बताएका छन्।