सप्तरीमा करेन्ट लागेर एक दम्पतीको मृत्यु

सप्तरी: सप्तरीको कञ्चनरुप नगरपालिका ५ पिपरामा आइतबार बिहान करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ।
मृत्यु हुनेमा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया श्रीमती विमलादेवी रहेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
डीएसपी काफ्लेका अनुसार स्थानीय महेन्द्र सरदारले हात्तीबाट धानबाली जोगाउन खेतमा खुला रुपमा विद्युतीय तार छाडेका थिए। सोही तारमा करेन्ट लागेर सरदार दम्पतीको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार सरदार दम्पतीको घरबाट करिब १५० मिटर पूर्वतर्फ रहेको खेतमा जाने क्रममा उनीहरू करेन्ट लागेको तारको सम्पर्कमा परेका थिए।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।