प्रसौनी ६ का वडाध्यक्ष कुशवाहा पक्राउ


eShilalekh

२ भाद्र २०८२, सोमबार १३:०३

कलैयाः बाराको प्रसौनी गाउँपालिका ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय शिक्षक नागेश्वरकुमार यादवलाई कुटपिट गरेको आरोपमा प्रहरीले कुशवाहालाई पक्राउ गरेको हो ।

मदिरा सेवन गरेका आठ जनाको समूहले शिक्षकलाई कुटपिट गरेको घटनामा वडाध्यक्ष कुशवाहासमेत संलग्न रहेको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बिजयराज पण्डितले पुष्टि गरेका छन्।

डीएसपी पण्डितका अनुसार कुशवाहालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। वडाध्यक्ष कुशवाहा यसअघि पनि कुटपिट, चेक अनादर र आपराधिक लाभसम्बन्धी तीन वटा मुद्दामा बारा जिल्ला अदालतले सजाय तोकेका व्यक्ति हुन् ।

अदालतले चेक अनादर मुद्दामा तीन हजार रुपैयाँ, कुटपिटमा दुई हजार रुपैयाँ र आपराधिक लाभमा एक हजार रुपैयाँ जरिवाना तोकेको थियो। कुशवालाई जेठ ११ गते पनि बारा प्रहरीले पक्राउ गरेको थियो । बारा जिल्ला अदालतको फैसला कार्यान्यवन गर्ने क्रममा कुशवाहालाई प्रहरीले जेठ ११ गते पक्राउ गरी अदालतमा पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्