परवानीपुरमा निभासा इन्डष्ट्रिजमा आगलागी, करिब ३९ लाख क्षति भएको अनुमान


eShilalekh

४ भाद्र २०८२, बुधबार १८:२३

वीरगन्जः पर्साको वीरगन्ज महानगरपालिका २१ परवानीपुरस्थित निभासा इन्डष्ट्रिज प्रालिमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब ३९ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहान करिब ९ः४५ बजे विद्युत् सर्ट भएर उद्योगमा आगो लागेको थियो। फरजना खातुनको स्वामित्वमा रहेको तीनतल्ले पक्की घरको भुइँतल्लामा सञ्चालित उद्योगमा आगो लाग्दा महत्त्वपूर्ण मेसिनरी र उपकरण जलेर नष्ट भएका छन्।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी परवानीपुर, सशस्त्र प्रहरी बल श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साको टोली घटनास्थल पुगेको थियो। स्थानीय, प्रहरी र दमकलको संयुक्त प्रयासमा करिब एक घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।

आगलागीबाट कुनै मानवीय क्षति नभए पनि उद्योगका विभिन्न मेसिनरीमा ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार ३२ लाख रुपैयाँको हिट ट्रान्सफर्मर मेसिन, दुई लाख २० हजार रुपैयाँको सर्भो स्टेबलाइजर, तीन लाख रुपैयाँको रोलिङ मेसिन र दुई लाख रुपैयाँको वाइरिङ पार्ट्स जलेर नष्ट भएका छन्।

प्रहरीका अनुसार कुल क्षति करिब ३९ लाख २० हजार रुपैयाँ बराबरको भएको छ।

प्रतिक्रिया दिनुहोस्