सर्लाहीमा २० केजीभन्दा बढी गाँजासहित दम्पती पक्राउ

सर्लाही: सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा घरभित्र लुकाइराखिएको २० केजी गाँजा बरामद भएको छ। प्रहरीले सोही गाँजासहित एक दम्पतीलाई समेत पक्राउ गरेको छ।
प्रहरीका अनुसार ४५ वर्षीय रुपेश साहको पक्की घर खान तलासी गर्दा छतमा लुकाइराखिएको २० केजी तीन सय ४० ग्राम गाँजा फेला परेको हो। साहसहित उनकी ३५ वर्षीया पत्नी प्रतिमा कुमारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
सूचनाका आधारमा प्रहरी चौकी हरिपुर्वाबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय केशरगंजको संयुक्त टोलीसहित घरमा छापा मारी गाँजा बरामद गरेको हो।
साह दम्पतीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याइएको प्रहरीले जनाएको छ।