वीरगन्जमा हैजाको प्रकोप : दुई दिन विद्यालय बन्द

वीरगन्ज: वीरगन्ज महानगरपालिकामा हैजा (कोलेरा) को प्रकोप समुदायस्तरमै फैलिएपछि सम्पूर्ण शैक्षिक संस्थाहरू दुई दिनका लागि बन्द गरिएका छन्।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आइतबार र सोमबार सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठनपाठन स्थगित गरिएको सूचना जारी गरेको हो।
जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार अबेर रातिसम्म वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ। अहिले विभिन्न अस्पतालमा एक सय २९ जना बिरामी उपचाररत छन्।
महानगरपालिकाका वडा नम्बर ३, ११, १२ र १३ मा हैजाका बिरामी भेटिएका छन्। नारायणी अस्पतालमा १८, तराई हस्पिटलमा १२, नेशनल मेडिकल कलेजमा पाँच, अलिअर्थो सेन्टरमा चार र भवानी हस्पिटलमा दुई जना हैजाका बिरामी उपचार भइरहेको ठाकुरले जानकारी दिए।
उनी अनुसार झाडापखाला र हैजाका शंकास्पद गरी हाल तीन सयभन्दा बढी बिरामी अस्पतालमा उपचाररत छन्। बिरामीको संख्या दिनानुदिन बढ्दै गएपछि अस्पतालहरूमा शय्याको अभाव भएको छ।