डुंग्रे दुर्घटना अपडेटः अर्को मृतकको खुल्यो पहिचान

सिमराः पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डको डुंग्रे पुलमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका अर्का एक युवकको पनि पहिचान खुलेको छ ।
दुर्घटना मृत्यु भएका अर्का युवक जीतपुरसिमरा उपमहानगरपालिका १४ खयरघारीका २२ वर्षीय किरण मोक्तान रहेका छन् । किरण मोटरसाइकलमा सवार थिए ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक जीतपुरसिमरा उपमहानगरपालिका १५ नयाँबस्तीका २० वर्षीय साजन तामाङको पनि मृत्यु भएको छ । मोटरसाइकल चालकको पहिचान खुलेपनि अर्का युवकको पहिचान खुल्न सकेको थिएन ।
पथलैयाबाट पिलुवातर्फ जाने क्रममा उनिहरु सवार ना३३प ६८५७ नम्बरको मोटरसाइकल जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैया नजिकको डुंग्रे पुलमा राति दुर्घटना भएको थियो । डुंग्रे पुलको रेलिङमा ठोक्किएर मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुबै युवक गम्भीर घाइते भएका थिए ।
घाइतेलाई प्रहरी चौकी पथलैयाको टोलीले परवानीपुरस्थित एलएस न्यूरो अस्पताल लगेपनि उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताउनुभयो ।