पथलैयामा ड्युटीमा रहेका ट्राफिक प्रहरीको असईमाथि कुटपिट, टाउकोमा चोट


eShilalekh

५ कार्तिक २०८२, बुधबार १६:१६

सिमराः बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर सिंहमाथि बुधबार बिहान कुटपिट भएको छ । पथलैयास्थित राजमार्गमा सवारी जाँचका लागि खटिएका सिंहमाथि बिहान करिब ३ बजे ट्रकमा सवार एक १७ वर्षीय युवकले कुटपिट गरेका हुन् ।

कुटपिटबाट प्रहरी सहायक निरीक्षक सिंहको टाउको चोट लागेको छ । उनको टाउँकोमा लागेको घाउमा तीन वटा टाँका लगाएको बताईएको छ । उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

मधेश प्र.०३–००१ त ८९१४, मधेश प्र.०३–००१त ८११२ र मधेश प्र.०३–००१त ८८८५ नम्बरको ट्रक जाँच गर्ने क्रममा विवाद भएपछि पर्सागढी नगरपालिका ५ बस्ने ती युवकले असई सिंहमाथि हातपात गरेका हुन् । उक्त ट्रकमा धान काट्ने मेसिन (कम्पाईन) लोड गरेर ल्याइएको थियो ।

असई सिंहले उक्त ट्रक रोकेर कागजपत्र जाँच गरिरहेका थिए । सो क्रममा विवाद भएपछि तीन वटाममध्ये एउटा ट्रकमा सवार युवकले सिंहमाथि हातपात गरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

युवकलाई अहिले ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखिएको छ । घटनालगत्तै ट्राफिक प्रहरीले युवकलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा बुझाएको थियो । युवकलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्