बारामा सुमोको ठक्करबाट एक जनाको मृत्यु, सुमो चालक पक्राउ

सिमराः परवानीपुरमा बुधबार राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । परवानीपुर गाउँपालिका २ मुसहरीस्थित सडकखण्डमा सवारी दुर्घटनामा हुँदा ६५ वर्षीय गौरीशंकर साहको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार राति करिब १०ः३० बजे रामपुर टोकनीबाट लिपनीतर्फ जाँदै गरेको ना.१ज ७३७३ नम्बरको टाटा सुमोले पैदल यात्रु साहलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाईते भएका साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि सो सुमो गाडी नजिकैको बिजुलीको पोलमा ठोक्किँदा पोल समेत भाँचिएको र सुमो घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी नायब निरीक्षक दिपक कुमार बस्नेतको नेतृत्वमा खटिएको प्रहरी टोलीले सुमो चालक प्रसौनी गाउँपालिका ७, बलुवाका २२ वर्षीय राजन साह कानुलाई नियन्त्रणमा लिएको छ ।
मृतक गौरीशंकरको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ । दुर्घटनामा संलग्न सुमो र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





