मधेस प्रदेशका १६ बालबालिका भारतबाट उद्धार

सिमराः भारतका विभिन्न सहरहरूबाट १६ जना नेपाली बालबालिकालाई उद्धार गरी उनिरुलाई शुक्रबार परिवारको जिम्मा लगाइएको छ ।
उद्धार गरिएका ती बालबालिकाहरूलाई मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयको रोहवरमा अभिभावकहरूको जिम्मा लगाइएको हो ।
उनीहरू मधेस प्रदेशका महोत्तरी, धनुषा, सिरहा, रौतहट र सप्तरी जिल्लाका रहेका छन् । ती बालबालिकाहरूलाई भारतीय प्रहरीको सहयोगमा ‘काईन इन्डिया’ नामक संस्थाले भारतका मुम्बई, दिल्ली र बिहार राज्यबाट उद्धार गरेको हो ।
मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको उपस्थितिमा आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि उनीहरूलाई आज औपचारिक रूपमा नेपाल फर्काइ परिवारको जिम्मा लगाइएको छ।
राष्ट्रिय बालअधिकार परिषद्का मधेस प्रदेश समन्वय अधिकृत सञ्जीव कुमार महतोका अनुसार उद्धार गरिएका बालबालिकाहरूको उमेर ९ देखि १७ वर्षसम्मको छ ।
महतोका अनुसार यी बालबालिकाहरूलाई राम्रो रोजगारीको लोभ देखाएर भारत लगिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।






