सर्लाहीमा डुबेर बेपत्ता भएका बालकको शव फेला


eShilalekh

२१ कार्तिक २०८२, शुक्रबार १३:५६

सर्लाही: सर्लाहीमा डुबेर बेपत्ता भएका एक बालकको शव शुक्रबार बिहान फेला परेको छ ।

कात्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता बालकको शव दुई दिनपछि फेला परेको हो ।

सर्लाहीको रामनगर गाउँपालिका १ खैर्वाका १४ वर्षीय आशिक यादव गत बुधबार बिहान करिब ६ बजे कात्तिक पूर्णिमाको स्नानका लागि बागमती नदीमा प्रवेश गरेका थिए । नुहाउने क्रममा उनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका बालकको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली निरन्तर खटिएको थियो ।

खोजतलासका क्रममा उनको शव रौतहटको दुर्गा भगवती गाउँपालिका २ स्थित बागमती नदीको किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्