बाराका सबै १६ स्थानीय तहमा ‘जेनजी’ समूह गठन हुने

सिमराः नयाँ पुस्ताको संगठन जेनजी समूह ले बाराका १६ वटै स्थानीय तहमा संगठन विस्तार गर्ने तयारी गरेको छ ।
बाराको कलैयास्थित बारा उद्योग वाणिज्य संघको सभाहलमा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जेनजी युथ अफ बाराले आफ्नो आगामी रणनीति सार्वजनिक गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै जेनजी बारा संयोजक सम्राट उपाध्यायले आगामी कार्तिक २९ गतेसम्म जिल्लाका १६ वटै पालिकामा जेनजी समूह गठन गरिने र मंसिर ६ गते जिल्ला भेला आयोजना गरिने जानकारी दिए ।

उनले युवाहरुलाई एकजुट भई गाउँगाउँ, टोलटोलमा पुगेर भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्न आह्वान गरेका छन् । उपाध्यायले जेनजी युवा देश निर्माणको अभियानमा अग्रसर हुने बताए ।
यसैगरी शौरभ पाण्डेयले जेनजी पुस्ताले समाजमा गर्व गर्न लायक कार्य गर्ने विश्वास व्यक्त गर्दै गलत काम गर्नेहरूमाथि कारबाही र राम्रो काम गर्नेहरुलाई प्रोत्साहन दिने बताएका छन् ।
युवा अभियन्ता शौरभ चौगाईले स्वतन्त्र सोचका व्यक्तिलाई मात्र जेनजीमा सहभागी गराइने बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका कमजोरी सुधार्ने तथा भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा आदर्शकोटवाल गाउँपालिकाका प्रदीप कुशवाहा र सुवर्ण गाउँपालिकाका अजय यादवले आफ्ना पालिकामा रहेका बेथिती र समस्याबारे जानकारी गराएका थिए ।
जेनजी समूहले आगामी महिनाभित्र संगठन विस्तार गरी जिल्लास्तरको भेला सम्पन्न गरी युवालाई सशक्तिकरण र सुशासनका अभियानमा सक्रिय बनाउने लक्ष्य लिएको जनाएको छ ।

यसैगरी जेनजी युथ अफ बाराले जीतपुरसिमरामा राज बहादुर थापाको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति गठन गरेको जनाएको छ ।





