पथलैया-निजगढ सडकखण्डमा हात्तीको आक्रमणबाट एकको मृत्यु


eShilalekh

२४ कार्तिक २०८२, सोमबार ०९:१९

सिमरा: पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया-निजगढ सडकखण्डमा सोमबार बिहान जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।

उक्त सडकखण्डको १२ किलो भन्ने स्थानमा हात्तीले मानिसलाई आक्रमण गरेको हो । मृतक ट्रकको सहचालक रहेको खुल्न आएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय निजगढको प्रहरी टोली पुगेको छ ।

उक्त क्षेत्रमा आइतबार रातीदेखि हात्तीले आतंक मच्चाईरहेको थियो । राजमार्गमा हात्ती देखिएपछी नेपाल प्रहरी, नेपाली सेनाको टोलीले मध्यरातमा हात्ती भगाएपनी बिहानको समयमा पुनः राजमार्गमा निस्किएको हात्तीले सहचालकलाई आक्रमण गरेको हो ।

हात्तीले उक्त सडकखण्डमा दुईवटा गाडी समेत पल्टाएको थियो । हात्तीका कारण उक्त सडकखण्ड अहिले प्रभावित छ । यसअघि हात्तीले आइतबार साँझ बाराको पथलैयामा राजमार्ग अवरुद्ध पारेको थियो । बस्तीकोबीचमा हात्ती देखिएपछी स्थानीय समेत आतंकित भएका थिए । प्रहरी र स्थानीयले पट्का पड्काउँदै हात्ती भगाएका थिए ।

डिभिजन वन कार्यालय बाराका प्रमुख राजिव झाले हात्तीलाई नियन्त्रणमा लिन चितवनबाट विज्ञ टोली हिडेको जानकारी दिए । उनले हात्तीबाट थप क्षति हुन नदिन समन्वय भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्