गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकमाथि हातपात, आकस्मिक कक्षमा तोडफोड

सप्तरी: सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा एक चिकित्सकमाथि हातपात र आकस्मिक कक्षमा तोडफोड भएको छ। अस्पतालको एनआइसीयुमा सर्टसर्किट भएर एक नवजात शिशु घाइते भएपछि आक्रोशित परिवारले निमित्त मेसु डा. दिलिप साहमाथि हातपात गरेका हुन्।
अस्पतालका अनुसार एनआइसीयु वार्डको विद्युतीय बल्ब सर्टसर्किट भएर झर्दा रुपनी गाउँपालिका ३ की रेखा यादवको नवजात शिशु घाइते भएको थियो। शिशुलाई तुरुन्तै थप उपचारका लागि धरान पठाइएको अस्पतालले जनाएको छ।
घटनापछि आक्रोशित समूहले अस्पताल परिसरमा प्रदर्शन गर्दै आकस्मिक कक्षमा समेत तोडफोड गरेका थिए।
अस्पताल प्रशासनले घटनाको विरोध गर्दै दोषीलाई पक्राउ नगरिएसम्म चिकित्सकहरूले आकस्मिक सेवा समेत बन्द गरी धर्ना दिने चेतावनी दिएको छ।





