धनुषामा वृद्धाको हत्या गरी सुनचाँदीका गहना लुट्ने महिला पक्राउ

धनुषाः धनुषा प्रहरीले वृद्ध महिलाको हत्या गरी सुन तथा चाँदीका गरगहना लुटपाट गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हंसपुर ७ नुवाखोर टोलकी ४५ वर्षीया पवित्री देवी मण्डल रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत २०८२ कात्तिक २४ गते राति करिब ९ बजे विन्देश्वर दास तत्माकी श्रीमती अन्दाजी ६२ वर्षीया चन्द्रकला देवी दास आफ्नै घरबाट करिब ५०० मिटरको दुरीमा मृत अवस्थामा फेला परेकी थिइन् ।
घटनाको जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुवँर र ईलाका प्रहरी कार्यालय सुगानिकास समेतको अनुसन्धान टोली घटनास्थलमा खटिएको थियो ।
अनुसन्धानका क्रममा मण्डलले कर्तव्य गरी मृतकको गरगहना लुटपाट गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले मण्डललाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकी मण्डलको साथबाट मृतकबाट लुटिएका गरगहनाहरू दुई थान झुम्का, दुई थान बाली, दुई थान मंगलसूत्र र खुट्टामा लगाउने दुई थान कडा बरामद गरिएको छ । साथै हत्या गर्न प्रयोग गरिएको हतियार समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेकी मण्डलमाथि धनुषा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमले जानकारी दिएका छन् ।





