सर्लाहीमा ३८ किलो लागूऔषध गाँजासहित एक जना पक्राउ

सर्लाहीः सर्लाहीको लालबन्दीबाट प्रहरीले सोमबार बिहान ठूलो परिमाणको लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका १ पटौनाका ५५ वर्षीय बद्रीबहादुर श्रेष्ठ रहेका छन् ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख इन्स्पेक्टर वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका ६ स्थित शिव मन्दिर नजिकबाट प्रदेश–२–०३००१ ह ३२८० नम्बरको अटो र ना६०प ५५६० नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा गाँजा बरामद गरेको हो ।
अटोबाट एक पोका र मोटरसाइकलबाट ६ पोका गरी कुल ३८ किलो आठ सय ९० ग्राम किलो गाँजा बरामद भएको प्रहरीका इन्स्पेक्टर जोहारीले जानकारी दिए ।
पक्राउ परेका श्रेष्ठ अटोमा सवार थिए भने मोटरसाइकलमा रहेका अन्य व्यक्ति फरार रहेका छन् । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।





