मधेसका ५ सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

सिमराः मधेस प्रदेशको राजनीतिक विवादमा सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश जारी गरेको छ ।
प्रदेशसभाका पाँच जना सांसदहरूलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको हो।
न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सभामुखको उक्त निर्णयलाई यथास्थितिमा राख्न निर्देशन दिएको छ । सभामुख मण्डलले गत कात्तिक २७ गते जनता समाजवादी पार्टी (जसपा) का चार जना र नागरिक उन्मुक्ति पार्टीका एक जना गरी पाँच सांसदहरूलाई पदमुक्त गरेका थिए ।
जसपाका सांसदहरू मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार, शारदा शंकर साह कलवार र नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंह पदमुक्त भएपछि उनीहरूले सभामुखको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
अदालतको अन्तरिम आदेशपछि ती पाँचै जना सांसदहरूको पद हालका लागि सुरक्षित भएको छ।





