सिमराको स्थिती तनावपूर्ण, प्रशासनले लगायो कर्फ्यु


eShilalekh

३ मंसिर २०८२, बुधबार १४:०७

सिमरा: बाराको सिमरामा जेनजी युवा र राष्ट्रिय युवा संघका कार्यकर्ताबीच भएको कुटपिट घटनापछी स्थिति तनावपूर्ण बनेको छ । सिमरा चोकमा जेनजी युवा र युवा संघका कार्यकर्ताबीचको विवाद उग्र भएपछी स्थिति तनावपूर्ण बनेको हो ।

जेनजी आन्दोलनमा भएको दमनविरुद्व प्रदर्शन गर्न उत्रिएका जेनजी युवा र नेकपा एमालेका नेतालाई स्वागत गर्न पुगेका युवा संघका कार्यकर्ताबीच सिमरा चोकमा विवाद भएको थियो । विवादका क्रममा युवा संघका कार्यकर्ताले जेनजी युवामाथी कुटपिट गरेका थिए ।

कुटपिटलगत्तै जेनजी युवाहरुले सिमरामा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरी र जेनजी युवाबीच दोहोरो झडप भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र लाठीसमेत प्रहार गरेको थियो ।

प्रदर्शनका क्रममा जेनजी युवाहरुले सिमरा विमानस्थलमा तोडफोड गरेका छन् ।  एमाले नेता विमानबाट आउन लागेको भन्दै विमानस्थल पुगेका जेनजी युवाले प्रवेशद्वार भत्काउदै प्रदर्शन गरेका थिए ।

जेनजीको प्रदर्शनपछि सिमरा विमानस्थल बन्द गरिएको छ । सिमरा विमानस्थल बन्द भएपछि नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत बारा आउने कार्यक्रम स्थगित भएको छ । बाराको चैनपुरमा हुन लागेको राष्ट्रिय युवा संघको युवा जागरण अभियानमा सहभागी हुन एमाले नेता बारा आउन लागेका थिए ।

जेनजीको प्रदर्शन चर्किदै गएपछी जिल्ला प्रशासन कार्यालयले पथलैयादेखी परवानीपुरसम्म दिउँसो १२:३० बजेदेखी राती ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्